राजनीति

बैतडीका वडा कार्यालयमा सचिव नहुँदा कामकाज प्रभावित (अपडेट)

बैतडी जिल्लाका धेरै गडा कार्यालयमा वडासचिव नहुँदा कामकाजमा समस्या आउने गरेको छ । सचिव नहुँदा सेवा ग्राहीलाई समस्या हुन थालेको छ  । जिल्लाका ८४ मध्ये ३० वडामा सचिव छैनन । वडामा दरबन्दीअनुसारका सचिव नहुँदा कामकाज प्रभावित हुनुका साथै सेवा प्रवाहमा समस्या भएको स्थानीय तहले जनाएका छन् ।  सचिव नभएका वडाहरुमा प्राविधिक सहायक खटाएर सचिवको काम भइरहेको सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलापती भट्टले बताए । पाटन नगरपालिकाका १० वटै वडामा दरबन्दीअनुसारका सचिव नभएका कारण प्राविधिक सहायकहरुले नै सचिवको काम  गर्दै आएका छन् ।

पुर्चौडी नगरपालिकाकाको एउटा वडामा मात्रै सचिव छन् । अन्य ९ वडामा प्राविधिक सहायकले नै सचिवको काम गरिरहेको नगरपालिकाका प्रवक्ता दलले धामीले जानकारी दिए । डिलासैनी गाउँपालिकामा ७ नम्बर वडामा मात्रै सचिव नभएका र अरु वडामा सचिवको दरबन्दी पदपूर्ति भएको गाउँपालिकाले जनाएको छ । यस्तै दोगडाकेदार गाउँपालिकाको पनि ७ नम्बरमा मात्रै सचिव छैनन् भने अरु सबै वडामा सचिव रहेका कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए । सिगास गाउँपालिकाको वडा नं. ४, ७ र ९ गरी तीन वडामा प्राविधिक सहायकले सचिवको काम गरिरहेका छन् ।

दशरथचन्द नगरपालिकाको ७ नम्बर वडामा पनि सचिव नरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए । यस्तै पञ्चेश्वर गाउँपालिकाका ६ मध्ये वडा नं २, ४ र ५ मा सचिव छैनन । शिवनाथ गाउँपालिकाको वडा नं ४ बाहेक सबैमा सचिव रहेका गाउँपालिकाले जनाएको छ । मेलौली नगरपालिकाका ९ मध्ये तीन वडामा सचिव छैनन् । वडा नं १, ५ र ९ मा प्राविधिक सहायकले काम गरिरहेका नगरपालिकाले जनाएको छ ।  वडामा सचिव नहुँदा सहज रुपमा सेवा प्रवाह हुन सकेको छैन । स्थानीयले समयमै सेवा नपाएको गुनासो गर्दै आएका छन् ।

प्रकाशित: १ चैत्र २०७७ ११:५७ आइतबार

बैतडी वडामा सचिव छैनन सेवा ग्राही