राजनीति

सरकारमा सहभागिताबारे कांग्रेसभित्र सबै विकल्प खुला : कल्याण गुरुङ

नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा कांग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ। तस्बिर: नागरिक

नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङले सरकारमा सहभागिताबारे कांग्रेसले सबै विकल्प खुला गरेको बताएका छन्। नेपाल प्रेस युनियन बाँकेले शुक्रबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा उनले कांग्रेसले ढोका बन्द नगरेको स्पष्ट पारे। सरकारमा सहभागी हुने/नहुने विषयमा कांग्रेसका नेताहरुबाट फरक–फरक धारणा आइरहेका बेला गुरुङले यस्तो बताएका हुन्।

‘संसदभित्रको अंक गणितमा हामी खुल्ला छौं, उपयुक्त के हुन्छ भन्ने कुरा संसदीय दल र केन्द्रिय कार्यसमितिले निर्णय गर्छ,’ उनले भने ‘अहिले हामीले विकल्प खुल्ला राखेका छौं, कसैको लागि कांग्रेसले ढोका बन्द गरेको छैन, गम्भीर रुपले नै छलफल चलाएका छौं।’

कांग्रेसले अहिले दुईवटा कुरालाई सँगै लिएर अगाडी बढेको केन्द्रिय सदस्य गुरुङले जानकारी दिए। ‘अहिले हामी चौधौं महाधिवेशनको तयारी र संविधान जोगाउन संसदमा खेल्नुपर्ने भुमिकामा केन्द्रित छौं,’ उनले भने। पार्टीको चौधौ महाधिवेशन आगामी भदौं ७, ८, ९ र १० गते काठमाडौंमा गर्ने तयारी भइरहेको बताउँदै उनले उक्त महाधिवेशनमा आफूले केन्द्रिय सभापतिमा उम्मेदवारी दिने ठोकुवा गरे।  

‘राजनीतिमा नयाँ पुस्ता आउनुपर्छ, त्यसकारण म भावी केन्द्रिय सभापति हुँ र उम्मेदवारी दिनेछु,’ गुरुङले थपे। आफूले सभापतिका लागि तयारी गरिरहेको उनको भनाई छ।  

नेपाली कांग्रेस क्रियाशील सदस्यता छानबिन समितीका सदस्य समेत रहेका उनले क्रियाशील सदस्यता पठाउन सबै जिल्लालाई सर्कुलर गरिसकेको जानकारी दिए। ‘अहिलेसम्म ४९ जिल्लाबाट नविकरण र नयाँ क्रियाशिल सदस्यता इन्ट्रीको काम भइसकेको छ,’ उनले भने।

प्रकाशित: २१ फाल्गुन २०७७ ०५:२४ शुक्रबार

कल्याण गुरुङ नेपाली कांग्रेस