राजनीति

प्रमुख प्रतिपक्षी दलले आफ्नो धर्म निभाउन सकेन : लोहनी

पत्रकारसँगको भेटघाटमा संवोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी । तस्बिर: नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सरकारको प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म निभाउन नसकेको बताएका छन्। गृह जिल्ला नुवाकोटका पत्रकारसँग अन्तक्र्रिया गर्दै उनले सत्तामा बसेकाले इमानदारीपूर्वक नागरिकको पक्षमा काम नगर्दा प्रतिपक्षले सत्ता पक्षलाई सहि मार्गमा ल्याउन नसकेको बताए।

‘यो तीन वर्षमा शुसासन कुसाशनमा परिणत भएको छ। आर्थिक विकास सत्तामा बस्ने भुइँफुट्टाहरूको मात्र भएको छ,’ उनले भने, ‘आम जनता झन् समस्या पर्दै गएका छन्। भ्रष्टाचार बढ्दै गएको छ। ४८ सालको राजनीतिक परिवर्तनपछि माओवादीको आन्दोलन विकल्पको रूपमा आयो। समाधानपछि नयाँ संविधान आयो।’

संविधान निर्माणपछि देश नयाँ राजमार्गमा हिँड्यो भनेको अहिले राजमार्ग पनि भत्किएको उनको भनाइ थियो । ‘सत्तामा रहेकाले इमानदारीपूर्वक नागरिकको पक्षमा काम गर्न सकेन,’ डा. लोहनीले भने, ‘सत्तामा बस्नेले बेइमानी गर्दा प्रतिपक्षले विरोध गरेर सही मार्गमा ल्याउन पर्ने हो तर प्रमुख प्रतिपक्ष दलले आफ्नो धर्म निभाउन सकेन।’

नेपालमा बलियो प्रजातन्त्रान्त्रिक र राष्ट्रवादी शक्तिको अत्यावश्यक रहेकाले त्यसको नेतृत्व गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी तयारी अवस्थामा रहेको लोहनीको भनाइ छ। नेपालको हालको परिस्थिति राजनैतिक भागबन्डामा चलिरहेको उल्लेख गर्दै उनले भने, ‘राजनीतिक भागबन्डाको सस्कारले जरो गाडिरहेको छ। यसको विपक्षमा हाम्रो पार्टी रहेको छ।’ उनले प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बताए।

प्रकाशित: २९ माघ २०७७ ०४:४८ बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी