राजनीति

'प्रतिगामी कदमविरुद्ध राप्रपाले आन्दोलन गर्छ'

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्वमन्त्री हरिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको कदम प्रतिगमन भएको बताएका छन्। पार्टी संगठन निर्माणको क्रममा गृहजिल्ला उददयपुर आएका पूर्वमन्त्री बस्नेतले पत्रकारहरूसँग कुराकानी गर्दै ओलीको प्रतिगामी कदमविरुद्ध राप्रपा सशक्त आन्दोलनमा उत्रेको बताए।  

तत्काल प्रधानमन्त्रीबाट राजीनामा दिन ओलीलाई सुझाउँदै बस्नेतले संसद् विघटन भएपछि उनी पनि सांसद नरहेको हुनाले कामचलाउ प्रधानमन्त्रीको हैसियतमा मात्र ओली पुगेको बताए। ‘ओलीले संसद् विघटन गरिसकेकाले त्यहीँ संसद्बाट चुनिएको प्रधानमन्त्रीको पद पनि अब छैन,’ बस्नेले भने, ‘निर्वाचित प्रधानमन्त्री रहने हो भने कि संसद् पुनःस्थापना गर्नुपर्‍यो कि राजीनामा दिनुपर्‍यो।’

वैशाखमा चुनाव गर्ने अनि प्रधानमन्त्रीमा बसिरहनु अवैधानिक भएको भन्दै बस्नेतले प्रतिगामी कदम चाल्ने ओलीविरुद्ध राप्रपा विरोधमा उत्रिएर देशव्यापी आन्दोलनमा होमिएको बताए। ओली सरकारले गराउने निर्वाचनमा राप्रपा सहभागी नहुनेसमेत बस्नेले स्पष्ट पारे। अहिलेकै अवस्थामा जवरजस्ती चुनाव गराए हिजो राजाले गराएको निर्वाचनमा दलहरू सहभागी नभएजस्तै आफुहरू सहभागी नहुने उनको भनाइ थियो। निर्वाचन गर्न एकपक्ष मात्र तयार भएर नहुने भन्दै सबै दललाई समझदारीमा ल्याएर मात्र गर्नुपर्ने उनको धारणा थियो।  

रपूर्वमन्त्री बस्नेतले प्रतिनिधिसभा विगटन भएको अवस्थामा साझा व्यक्तिको नेतृत्वमा सरकार गठन गरेर त्यसबाट निर्वाचन गराउनुपर्ने भन्दै त्यस्ता नगरे मुलुकमा ठूलो संकट आउने भविष्यवाणी गरे। त्यसकारण निर्वाचन सफल बनाउन भए एउटा साझा व्यक्तिको खोजी गरेर त्यस्तो व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपर्ने सुझाव बस्नेतको थियो।  

राप्रपा राष्ट्रियता, प्रजातन्त्र र उदारवादको बटमलाइनमा रहेको भन्दै उनले दलीय शासन व्यवस्थामा राष्ट्रपति साझा बन्नुपर्नेमा विद्या भण्डारी त्यस्ता हुन नसकेको गुनासो गरे। मुलुकको प्रमुख पद सम्हाल्ने व्यक्ति पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि हुनेखालको साझा व्यक्ति हुनुपर्ने उनले बताए। ‘देशको साझा थलोमा बस्ने व्यक्ति पार्टीनिकट भएपछि पार्टीको धारणामा वहकिने खतरा हुन्छ, त्यसैले साझा व्यक्ति हुनुपर्छ।’

प्रकाशित: १५ माघ २०७७ ०२:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App