राजनीति

चुनावको निर्णय अदालतले गर्छ : तिमिल्सिना

पोखरामा बोल्दै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना । तस्बिरः नागरिक

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चुनाव हुने वा नहुने भन्ने निर्णय सर्वाेच्च अदालतको फैसलामा निर्भर हुने बताएका छन् । पत्रकार महासंघ कास्कीको साधारणसभामा शुक्रबार बोल्दै तिमिल्सिनाले संसद विघटन सम्बन्धी मुद्धा अदालतमा विचाराधिन रहेकाले अब चुनाव हुने नहुने भन्ने निर्णय पनि अदालतकै फैसलामा भर पर्ने बताए ।  

चुनाव हुँदैन भनेर अहिल्यै जनतामा नकारात्मक सन्देश दिन नहुने उनको भनाई छ । ‘चुनावको निर्णय अदालतले गर्छ,’ उनले भने, ‘अदालतले संसद विघटन गर्ने कदमलाई सदर ग¥यो भने चुनाव हुन्छ, नत्र संसद पुर्नस्थापना भए त्यही अनुसार हुन्छ ।’  

तिमिल्सिनाले चुनाव हुनुपर्छ र हुन्छ भनेर जानुपर्नेमा जोड दिए । ‘अहिल्यै चुनाव हुँदैन कि भनेर आशंका गर्दै गएमा चुनाव नगर्नेलाई बल पुग्छ,’ उनले भने,‘चुनाव हुन्छ–हुँदैन होईन, अब चुनाव हुनुपर्छ र हुन्छ नै । चुनावबाट भागेर जाने वातावरण बन्न दिनुहुँदैन ।’ सर्वोच्च अदालतको फैसला संसद विघटनको पक्षमा आए कुनैपनि हालतमा तोकिएकै मितिमा चुनाव हुने ठोकुवा गरे ।

अध्यक्ष तिमिल्सिनाले अझैपनि सम्हालिने ठाउँ भए सम्हालिन नेकपालाई आग्रह गरेका छन् । बहुमतको सरकारले पूर्ण कार्यकाल बिताउन नपाउनु ठूलो विडम्वना भएको टिप्पणी गर्दै उनले भने, ‘यो कत्तिपनि राम्रो होईन । राजनीतिक हिसाबले सरकार अस्थिर भइरहने, हो भने यसले सामाजिक र विकास निर्माणमापनि असर पर्छ । दीर्घकालीन विकासमा पनि असर गर्छ ।’  

अध्यक्ष तिमिल्सिनाले पूर्व एमाले र नेकपा माओवादी मिलेर चुनाव लड्दा देशैभर स्थिरताको आशाले जनताले मत दिएपनि नेकपाले स्थिरता दिन नसकेको बताए । ‘हिजो बरु नमिलेको भए केही थिएन,’ उनले भने, ‘मिलेर झन ठूलो पार्टी बनाएर अगाडि बढ्ने भनियो, तर, अब फुटको संघारमा छ । नेपाली जनता वा कसैले पनि यो चाहेका थिएनन र राष्ट्रको हितमा पनि छैन ।’ जनताको अभिमतलाई नेताले कदर गर्नुपर्ने भन्दै उनले त्यस्तो नभए इतिहासले माफी नदिने बताए ।

प्रकाशित: २ माघ २०७७ १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App