राजनीति

बामदेवले बनाए पार्टी एकता राष्ट्रिय अभियान, यस्तो छ आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले पार्टी एकताका लागि अभियान नै सुरु गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि दुई चिरामा देखिएको नेकपालाई जोड्ने प्रयास स्वरुप गौतमले नेकपा एकता राष्ट्रिय अभियान सुरु गरेका हुन्।

शनिबार एक विज्ञप्ती जारी गर्दै उनले यो अभियानमा जोडिन आम पार्टी कार्यकर्तालई आग्रह गरेका छन्।

'अहिलेको अवस्थालाई सुक्ष्मतम विश्लेषण गर्दै पार्टीको एकता जोगाउन वा पुन:एकीकरण गर्ने उद्देश्य लिएर नेकपाको उपाध्यक्ष रहेको म वामदेव गौतम दुबै समूहलाई समर्थन नगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजक बनेर देश र विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरुलाई हार्दिक हार्दिक अपिल गर्दै तपाईहरुका अगाडि खडा भएको छु', गौतमले भनेका छन्,' 'यो पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुन:एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्र्ने नेपाली जनताले कहिल्यै माफि दिने छैनन्।'

उनले एकता अभियानमा जुट्न आम कार्यकर्तालाई आग्रह गर्दै जो जुन ठाउँमा छन् त्यही नेकपा एकता अभियानको नाम संगठन खडा गरेर विभाजनमा ढल्केकालाई सम्झाउन भनेका छन्। 'कुनै पनि समूहका नेता कमरेडहरुको गालीगलौजको शैलीमा विरोध नगर्नुहोस। घरमा आउने कमरेडहरुलाई आफुसक्दो सहयोग गर्नुहोस। सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस', उनले भनेका छन्,  'कहिलेकाहीँ कोरोना महामारीबाट बच्न सामाजिक दुरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस, एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस। यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ।'

अन्तरविरोधहरुको समाधान गर्न नसक्नुका कारण पार्टी विभाजन उन्मुख हुनु शिर्षस्थ नेताहरुको अयोग्यता भएको उनको भनाई छ।  

'पार्टी एकीकरणका नीम्ति गरिएको पछिल्लो सहमति अनुसार पार्टी र सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकै थियो। अरु कुनै विकल्पमा जानसक्ने अवस्था नहुँदा दुई अध्यक्ष प्रणालीमा स्वेच्छाले सहमति भएकै थियो। यस्तो हुँदाहुँदै पनि एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय पक्षको कमजोरीले गर्दा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव लैजाने र प्रतिनिधिसभा भंग गर्ने तथा भर्खर एकीकरण भएको पार्टी विभाजन गर्नेसम्मका दूर्घटना राष्ट्रले वेहोर्न पर्ने अवस्था सृजना भएको छ', गौतमले भनेका छन्। पार्टीभित्र उत्पन्न हुने समस्या पार्टीभित्रै समाधान गर्न नसकेर सिंगो राष्ट्रलाई प्रभावित गर्ने संस्था प्रतिनिधि सभालाई दुरुपयोग गर्ने सम्मका घटना घटनु राष्ट्रकै निम्ति अत्यन्तै पीडादायी अवस्था भएको उनले बताएका छन्।  

यतिवेला कार्यकर्ताहरुलाई तानातान गर्दै के.पी. शर्मा ओलीको नेतृत्वमा एउटा समूह र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा अर्को समूह देखापर्नु दुखद भएको उनले बताएका छन्।  

 

 

प्रकाशित: २५ पुस २०७७ ०६:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App