राजनीति

सम्बन्ध नयाँ उचाइमा पुग्ने चिनियाँ रक्षामन्त्रीको विश्वास

कोभिड–१९ महामारीका कारण रोकिएको सैन्य सहयोगलाई यथाशीघ्र निरन्तरता दिने आश्वासन

प्रधानमन्त्री केपी ओली शर्मासँग शिष्टाचार भेट गर्दै चिनियाँ रक्षामन्त्री जनरल वेइ फेङहे । तस्बिर सौजन्य: प्रधानमन्त्रीको निजी सचिवालय

चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल वेई फेङहेले आफू नेपाल र चीनबीच भएका दुईपक्षीय सम्झौता कार्यान्वयनका लागि काठमाडौं आएको बताएका छन् । एक दिवसीय नेपाल भ्रमणका सिलसिलामा आइतबार त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै उनले नेपाल र चीनबीचको मित्रवत् सम्बन्धलाई आफ्नो भ्रमणले थप उचाइमा पु-याउने विश्वास व्यक्त गरे ।  

चिनियाँ राष्ट्रपतिले भ्रमण गरेको एक वर्षपछि नेपाल आउने उनी पहिलो उच्चाधिकारी हुन् । चिनियाँ जनमुक्ति सेनाको पूर्वरकेट फोर्स कमान्डरसमेत रहेका वेई चिनियाँ राष्ट्रपति सी जिङपिङले अध्यक्षता गर्ने केन्द्रीय सैन्य आयोगको मुख्य चारमध्येका एक सदस्य पनि हुन् ।  

रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरी द्विपक्षीय हितका विषयमा कुरा गरे । राष्ट्रपतिसँगको भेटमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको थियो । उनले चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षीलाई पठाएको सन्देश सुनाएका थिए । त्यस्तै वेईसँगको भेटमा प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिएको जानकारी गराउँदै उच्चस्तरीय भ्रमणका क्रममा दुई देशबीच भएका सम्झौता कार्यान्वयनका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताएका थिए । वेईले पनि उच्चस्तरीय भ्रमणका क्रममा भएका दुईपक्षीय सम्झौता गम्भीरताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । उनले प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षीले पठाएको सन्देश पनि सुनाएका थिए ।

त्यस्तै चिनियाँ रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेट गरी आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यका विषयमा छलफल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । छलफलमा विशेषगरी कोभिड–१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यक्रमलाई निरन्तरता दिने तथा विगतमा सैनिक सहायता प्राप्तिसम्बन्धी भएका सहमतिको प्रगतिका विषयमा पनि छलफल भएको थियो । छलफललाई चिनियाँ रक्षामन्त्रीसहितको प्रतिनिधिमण्डलले सकारात्मक रूपमा लिएको र उच्चस्तरीय भ्रमणलगायत द्विपक्षीय सहयोगका कार्यक्रमलाई यथाशीघ्र निरन्तरता दिने बताएको सेनाले जनाएको छ ।  

चिनियाँ रक्षामन्त्री वेईले नेपाली सेनालाई कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्यका लागि सहयोगको प्रतिबद्धतासमेत व्यक्त गरे । नेपाली सेनाले जनरल वेईको सम्मानमा जंगी अड्डामा सम्मान गारत अर्पण गरेको थियो । दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका रक्षामन्त्री वेईको स्वागतका लागि गृहमन्त्री रामबहादुर थापा तथा रक्षासचिव रेश्मीराज पाण्डे, रथी प्रभुराम शर्मालगायत त्यहाँ पुगेका थिए ।  

प्रधानमन्त्री तथा राष्ट्रपतिसँग भेट गरेपछि रक्षामन्त्री वेई आइतबार नै स्वदेश फर्किएका छन् ।

भारतीय गुप्तचर संस्थाका प्रमुख, सेना प्रमुख र विदेशसचिवको नेपाल भ्रमणलगत्तै चिनियाँ पक्षबाट उच्चस्तरीय भ्रमण भएको हो । सरकारी उच्च स्रोतका अनुसार चिनियाँ रक्षामन्त्री वेईको भ्रमण कुनै विशेष उद्देश्यले भन्दा पनि नेपालमा आफ्नो उपस्थिति जनाउनका लागि भएको हो । भारत तथा पश्चिमा मुलुकको चासो र उपस्थिति नेपालमा बढेपछि चीनले पनि आफ्नो प्रभाव र उपस्थिति जनाउन उच्चस्तरीय भ्रमणदल पठाएको जानकार बताउँछन् । पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी र सरकारको चीनसँग निकटता बढेको छ ।

प्रकाशित: १५ मंसिर २०७७ ०१:१७ सोमबार

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङहे