राजनीति

कर्णालीमा दाहाल–नेपाल समूह एक ठाउँ, मुख्यमन्त्रीविरुद्ध बहुमत नपुग्ने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका सत्तारुढ दलका सांसदहरूले बैठक सञ्चालनका लागि कोरम पुर्याउन सकेका छैनन्।  आइतबार १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।  उक्त प्रस्तावउपर छलफल गर्नका लागि पदमुक्त गरिएका प्रमुख सचेतक गुलावजंग शाहले मंगलबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक आव्हान गरेका थिए।  कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन्।  

मुख्यमन्त्रीविरुद्ध प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली समूहका आठ, वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सात र प्रचण्ड समूहका तीन जना मिलेर अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।  अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव नेपाल समुहका सांसदहरु बैठकमा उपस्थित नभएपछि ओली समूहका सांसदहरु रणनीति बनाउन संसद सचिवालयमा बैठक बसिरहेका छन्।  

‘कर्णालीमा मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको करिव विफल भएको छ,’ हस्ताक्षरकर्ता मध्येका एक सांसदले भने, ‘सांसद यामलाल कँडेलको मुख्यमन्त्री बन्ने सपना फेरि तुहिएको छ। ’ स्रोतका अनुसार प्रचण्ड–नेपाल समूहबीच संसद र सरकारमा प्रतिनिधित्वका विषयमा मौखिक सहमति भएको छ।  सोही सहमति अनुसार अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका कुर्मराज शाहीलाई मुख्यमन्त्री शाहीले दलको सचेतकमा नियुक्त गरेका छन्।  उनलाई मंगलबार दलको विधानको दफा ८ अनुसार नियुक्त गरिएको हो।  यसअघि दलको सचेतक रहेकी सीताकुमारी नेपालीलाई सोमबार प्रमुख सचेतकमा नियुक्त गरेका थिए।  

 

 

प्रकाशित: २७ आश्विन २०७७ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App