राजनीति

कोरोना थेग्नै नसकिने भइसक्यो, प्रधानमन्त्रीज्यू ! केही त गर्नोस् : गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले कोरोना महामारी नियन्त्रणबाहिर गइसकेको भन्दै यस विषयमा गम्भीर बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष आग्रह गरेका छन्।  

यो अवस्था आउन नदिन आफूहरूले पटकपटक आग्रह गरेको भए पनि प्रधानमन्त्रीले यसमा चासो नदिएको उनको आरोप छ।  

कांग्रेसका केन्द्रीय सदस्य थापाले फेसबुकमा लेखेका छन्, ‘समय, स्रोत, सहयोग सबै थियो। तर तपाईंको सोच र शैलीका कारण जटिल अवस्थामा पुगेका छौं। टार्न सकिने अवस्थाबाट चिर्नै नसक्नेजस्तो अवस्थामा पुगेका छौं।’

उनले अगाडि आग्रह गरेका छन्, ‘कोभिडविरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहन्छौं। तर केही त गर्नुस् प्रमज्यू!’

यस्तो छ थापाले लेखेको पूरा स्टाटस :  

एकातर्फ काठमाडौंबाहिर परीक्षणको संख्या घट्दै गएको छ। तर चाडबाडको सम्मुखमा देशव्यापी आवागमन बढिरहेको छ। अर्कोतर्फ काठमाडौंमा कोभिड संक्रमितलाई जटिलता हुँदा न त आइसोलेसनमा राखेर उपचार गर्ने बेड छ न त सघन उपचारका लागि कहीँ बेड उपलब्ध नै छ। केही समस्या भइहाले के गर्ने, सबैमा अलमल छ।

यो अवस्था आउन नदिन पूर्वतयारी गरौं, यसरी गर्न सकिन्छ भनेर प्रधानमन्त्रीज्यूलाई पटकपटक नभनेको होइन, तर प्रमलाई यस्तो कुरा सोच्ने फुर्सद भएन। समय, स्रोत, सहयोग सबै थियो। तर तपाईंको सोच र शैलीका कारण जटिल अवस्थामा पुगेका छौं। टार्न सकिने अवस्थाबाट चिर्नै नसक्नेजस्तो अवस्थामा पुगेका छौं।  

योबेला पनि तपाईंको प्राथमिकतामा महामारी छैन।अहिले मन्त्रीमण्डल भागबन्डाबारे होइन, संकटबारे छलफल गर्नुस्। बेहोस भए मात्र अस्पताल जाऊ भन्ने विज्ञ होइन, वास्तविक विज्ञ र अग्रपंक्तिमा खटिएकाका कुरा सुन्नुस्। कोभिडविरुद्धको लडाइँमा तपाईंलाई साथ दिन चाहन्छौं। तर केही त गर्नुस् प्रमज्यू!

प्रकाशित: २४ आश्विन २०७७ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App