राजनीति

सडकबाट खबरदारी तर सुन्दैन सरकार

कोरोना भाइरस नियन्त्रण गर्न सरकार असफल भएको भन्दै काठमाडौंसहित देशका मुख्य सहरमा शुक्रबार पनि प्रदर्शन भएका छन्।  संक्रमण फैनिल नदिन सरकारले लगाएको लकडाउनकै बीचमा सडकमा पोखिन थालेको असन्तुष्टि दिनप्रतिदिन बढ्दै गएको छ।  

सामाजिक दूरी कायम राखेर सुरु भएको विरोध प्रदर्शनले बिस्तारै आन्दोलनको स्वरुप ग्रहण गर्न थालेको छ।  सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट सडकमा उत्रिन थालेका छन्।  सरकारलाई महामारीको बेला जिम्मेबार बन्न प्रदर्शनकारीले दबाब बढाइरहेका छन्।  

काठमाडौंको बालुबाटार, माइतीघर, वसन्तपुर, भक्तपुरकाृ कमलविनायक, ललितपुरको पाटन दरबार क्षेत्र, काभ्रेको धुलिखेलमा शुक्रबार प्रदर्शन भयो।  यस्तै विराटनगर, पोखरा, जनकपुर, वीरगञ्ज, नेपालगन्जलगायत सहरमा पनि युवाले प्रदर्शन गरेका छन्।  

सरकार कोरोना संक्रमण व्यवथापनमा चुकेको र आर्थिक अनियमितामा डुबेको प्रदर्शनकारीको आरोप छ्।  युवाले मुकुन्डो लगाएर, छातामा पम्प्लेट झुन्ड्याएर, छातीमा प्लेकार्ड टाँसेर, सडकमा सुतेर प्रदर्शन गर्दै आएका छन्।  यस्तै शैलीमा शुक्रबार पनि प्रदर्शन गरियो।  ‘यो निकम्मा सरकार हो।  यसले बिरामीको मृत्यु भएपछि मात्रै रिपोर्ट निकालेको छ।  सरकार महामारीका बेला पनि कमिसनको चक्करमा फसेको छ।  सरकारमै रहेका भ्रष्टाचारीले देश रित्याइरहेका छन्।  अनि यस्तो अवस्थामा आन्दोलन नगरेर के सरकारको तारिफ गर्ने ?’ कमलविनायक क्षेत्रमा भएको प्रदर्शनमा सरिक उमेश साइजूले भने।  

सडकमा युवा जमात देखिए पनि यो समूह प्रायोजित रहेको आरोप कसैकसैले लगाएका छन्।  सडकमा उत्रिएका युवाको समूह कुनै राजनीतिक संगठनको नभएर सामाजिक सञ्जालले जन्माएको हो।  यसको तयारीका लागि कोभिड–१९ नेपाल भन्ने फेसबुक नाममा एउटा क्लोज ग्रुप बनाइएको छ।  जसमा १ लाख भन्दा बढी युवा जोडिएका छन्।  ती युवाले समूह–समूहमा कार्यक्रमको डिजाइन बनाउँछन्।  छलफलपछि कार्यक्रम तय गर्छन्।  

सडकमा युवाको उपस्थिति बढ्न थालेपछि केहीले गगन थापा र विवेकशीलका केही नेताहरुको डिजाइनमा यस्तो भएको हो भन्न पनि थालेका छन्।   लकडाउनका बेला सरकारविरुद्ध जागेको यो समूहबारे सामाजिक सञ्जालमा विभिन्न तर्क–वितर्क भइरहेको छ।  कसैले यसलाई प्रायोजित भनेका छन्।  कसैले स्वस्फूर्त रुपमा युवा सडकमा आएको भनेका छन्।  विवेकशीलका नेता मिलन पाण्डेले युवा आफंै सडकमा उत्रिएको बताए।  देशको शासन व्यवस्थामा कमजोरी मात्रै देखेपछि युवा असह्य भएर सडकमा निस्किएको उनको भनाइ छ।  ‘सरकारको काम कारबाहीदेखि युवा दिक्क भइसकेका छन्।  कोरोना महामारीके बेला त राम्रो काम गर्न नसकेको सरकारले अब राम्रो काम नगर्ने ठानेर युवा सडकमा निस्किएका हुन्,’ उनले भने।  

महामारीका बेला भएको प्रदर्शनमा सामाजिक दूरी कायम नभएपछि त्यसतर्फ चनाखो भएर अघि बढ्न पनि सुझाव दिइएको छ।  

काठमाडौंमा शुक्रबार भएको प्रदर्शनमा नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईं उपस्थित थिए।  उनले सरकारले अत्यावश्यक कामसमेत गर्न नसकेपछि खबरदारी गर्न युवा सडकमा निस्किएको बताए।  ‘अहिलेको युवा पुस्ता धेरै जिम्मेवार छ, प्रविधिमा पोख्त छ, सरकारले ढाकछोप गरेका कामकारबाही सहजै पत्ता लगाउन सक्ने क्षमता राख्छ, त्यसकारण सामाजिक सञ्जालमार्फत् भेट भएर उनीहरु सडकसम्म आएका छन्, मैले पनि युवालाई साथ दिइरहेको छु,’ उनले भने।  

प्रहरी प्रशासनले महामारीको बेला प्रायोजित रुपमा प्रदर्शन भइरहेको बताउँदै आएको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले अहिले सडकमा निस्कने हुल पूर्णतः प्रायोजित रहेको बताए।  उनले भने, ‘तीन दिनयता सडकमा विरोध प्रदर्शन भइरहेको छ, सुरक्षित रहने बेला युवालाई सडकमा निकाल्ने काम केही मुुख्य व्यक्तिहरुले गरेको हामीले जानकारी पाएका छौं। ’ उनका अनुसार प्रहरीले प्रदर्शनकारीलाई अराजक हुन दिएको छैन।  प्रधानमन्त्री निवास  बालुटार नजिकै बिहीबार भएको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले ११ सेल अश्रुग्यास प्रयोग गरेको थियो।  शुक्रबार भने शान्तिपूर्ण प्रदर्शन भएको प्रहरीको भनाइ छ।  

माग पूरा गर्न दबाब  

साझा पार्टीले युवा प्रदर्शनकारीले उठाएका माग पूरा गर्न सरकारसमक्ष माग गरेको छ।  सो पार्टीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले  जिम्मेवार भएर युवाका माग सम्बोधन गर्नुपर्ने उल्लेख छ।  कोरोना भाइरस संक्रमण रोकथाम गर्नुपर्ने समयमा गैरजिम्मेवार भएकै कारण सरकार आलोचित भएको साझा पार्टीको ठहर छ।  ‘कोरोनासँग जुध्ने तयारीका लागि अन्य मुलुकका तुलनामा हामीसँग पर्याप्त समय थियो।  तर सरकारले मूलतः फोहरी राजनीतिक खेल र भ्रष्टाचार छोप्न तीन महिना देशव्यापी लकडाउन गरेर बितायो,’ विज्ञसप्तमा लेखिएको छ, ‘नागरिकको जीवन अत्यन्त कष्टकर मात्र भएन, उद्योग, व्यवसाय, कृषि, पर्यटन, शिक्षाजस्ता क्षेत्र धराशायी नै हुने अवस्था आयो भयो। ’  

साझाले युवाको प्रदर्शनलाई अति पछिको खतिका रुपमा व्याख्या गरेको छ।  कोरोना रोकथाममा खर्च भएको भनिएको १० अर्ब रूपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने, आरडिटी परीक्षण बन्द गरी विश्वसनीय मानिने पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टिन स्थलहरूको गतिलो व्यवस्थापन तथा अनियमिताको छानिबन गर्नुपर्ने माग प्रदर्शनकारीको छ।  यी मागप्रति आफ्नो पनि समर्थन रहेको साझाले जनाएको छ।  

 

प्रकाशित: ३१ जेष्ठ २०७७ ०१:२४ शनिबार

प्रदर्शन सरकार