राजनीति

वामपन्थी नेता अधिकारीको अवस्था जटिल

चितवन-    थप उपचारका लागि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको अवस्था जटिल हुँदै गएको छ।    
    
गएको पुस २७ गते बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना भएका उनलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो। अधिकारीकी बहिनी पत्रकार शान्ता अधिकारीका अनुसार उनलाई सघन उपचार कक्षमा राखिएको छ।    
    
फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको र शरीरको कम्मरमुनिको भागमा पक्षघात हुनाका साथै अधिकारीको अवस्था निकै जटिल भएपछि आज अस्पतालबाट बाहिर निकाल्ने तयारी गरिएको उनले जानकारी दिइन्। शनिबार साँझ अधिकारीलाई सोही पार्टीका महासचिव मोहन वैद्य किरणले अस्पताल पुगेर भेट गरेका थिए।
    
विसं २०११ मा हालको अजिरकोट गाउँपालिका–३ गोर्खामा जन्मेका अधिकारी विसं २०३२देखि कम्युनिष्ट आन्दोलनमा सक्रिय छन्।
    
माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्य लाभको कामनासहित सहयोगका लागि आश्वासन पनि दिएका थिए।
    
 

प्रकाशित: २२ असार २०७६ ०८:२५ आइतबार

स्वास्थ्य उपचार