राजनीति

मंसिर भित्र पार्टी एकता टुंगिन्छ : नेता खनाल

इलाम- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले आउँदो मंसिरभरमा तल्लो तहसम्मै पार्टी एकता भइसक्ने दाबी गरेका छन्। उनले माथिल्ला कमिटी निर्माण भइसकेपनि तल्लो तहसम्म पार्टी एक हुँदा मात्र पार्टी सशक्त हुने बताए।

उनले तलैसम्म एकता भएपछि मात्र पार्टी सशक्त र जनव्यापी हुने बताए। ‘संविधानको भावना अनुसार समाजवादी बाटोको अगुवाई पार्टीले गरिरहेको छ,’ गृहजिल्ला इलामस्थित नेकपाले सोमबार आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले भने, ‘नेकपाले कल्पना गरेको सुखी नेपाली समृद्ध नेपाल  निर्माणको लक्ष्य पूरा हुने आधार तयार भएको छ।’ 

उनले नेकपा नेतृत्वको सरकार नै सक्षम भएकाले अहिले चर्चा हुन थालेको आमसहमतिको सरकार आवश्यक नरहेको पनि बताए। ‘दुईतिहाई जनमत भएको सरकार आफैंमा शक्तिशाली हुन्छ, अहिले चर्चा हुन थालेको सहमतिको सरकार बन्ने सम्भावना छैन, आवश्यकता पनि छैन,’ खनालले भने, ‘अहिले जुन सरकार छ, यो नै वास्तवमा राष्ट्रिय सरकार हो।’ अहिले प्रतिपक्षविहीन सरकार बन्ने सम्भावना नरहेको उनको भनाइ छ।

               

                 

                 

 

 

 

 

प्रकाशित: २६ कार्तिक २०७५ ०८:५९ सोमबार

नेकपा पार्टी