राजनीति

दोषी कुनै पनि हालतमा उम्कन हुन्न : मेयर विष्ट

महेन्द्रनगर- भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले निर्मला पन्तका हत्यामा संलग्न दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन्।

कञ्चन समाजले हरितालिका तीजका अवसरमा भीनपा ६ शिवमन्दिर चोकमा आयोजना गरेका विशेष कार्यक्रममा नगर प्रमुख विष्टले दोषीले उन्मुक्ति नपाउने, निर्दोष फस्न नहुने र अपराधलाई राजनीतिकरण गर्न नहुनेमा जोड दिएका हुन्।
‘यो जघन्य अपराधको घट्ना हो, यसका दोषी कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन, पाउँदैन, निर्दोष फस्न हुँदैन, र यसलाई टेकेर राजनीतिकरण गर्न हुँदैन।’

निर्मला पन्तको हत्या र बलात्कारपछि हत्यारालाई कारवाहीका लागि हुँदै आएको आन्दोलनलाई निष्कर्षमा पुगाउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताए। निर्मलाको हत्यापछि समाजमा अशान्ति र असुरक्षा बढेकाले सरकारले नागरिकलाई पूर्ण रुपमा सुरक्षित गर्नु पर्नेमा जोड दिए।

स्थानीय तह निर्वाचनमा गरिएका वाचा अनुसार भीमदत्त नगरपालिकाका कामकाज गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा सबैको नगरवासीको सल्लाह अनुसार कामकामज गरिने बताए। ‘निर्वाचनमा जे जति वाचा गरेका थियौ, ती वाचा पूरा गर्न लागि परेका छौ’ उनले भने,‘ती सबै वाचार पूरा गरेर छाड्छौ।’

गत साउन ११ गते हत्या र बलात्कारपति हत्या गरिएको अवस्थामा भेटिएकी पन्तका परिवारलाई भीमदत्त नगरपालिकाबाट तीन लाखको सहयोग घोषणा गरिएको छ। निर्मला पन्त हत्या प्रकरणसित जोडेर केहीले राजनीतिक पूर्वाग्रह साँध्न खोजेकोमा दुःख व्यक्त गर्दै मेयर विष्टले अपराधमा राजनीति गर्न आग्रह गरे।

प्रकाशित: २९ भाद्र २०७५ १४:४० शुक्रबार

भीमदत्त_नगरपालिका सुरेन्द्र_विष्ट निर्मला_पन्त