काठमाडौं - गृहमन्त्री रामबहादुर थापाले काठमाडौं काँडाघारीका बालक निशान खड्काको हत्या तथा उनका हत्याको आरोपितको ‘इन्काउन्टर’ का बारेमा विरोधाभाषी अभिव्यक्ति दिएका छन्। शुक्रबार चितवन पुगेर उनले सुरक्षाकर्मीको रिपोर्ट उद्धृत गर्दै खड्काको हत्या गर्नेहरू मुठभेडमा नै मारिएको बताएका छन्। ‘फेक इन्काउन्टर’ हल्ला मात्र हो, सरकारले आफ्नो दायित्व सफलतापूर्वक निर्वाह गरेको छ, २४ घण्टाभित्र घटनाका विषयमा सबै जानकारी बटुलेर दोषीहरू मुठभेडमा मारिएका छन्,’ गृहमन्त्री थापाले भने। तर, अघिल्लो दिन बिहीबार उनले संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा प्रहरीले दाबी गरेको इन्काउन्टरका विषयमा विविध शंकास्पद कुरा उठेकाले त्यसको छानबिन हुने बताएका थिए।
सांसदहरूले फेक इन्काउन्टरका विषयमा सरकारको धारणा माग गरेपछि उनले बालक अपहरण तथा हत्या र हत्यारा भनिएका दुईजनालाई कोठाबाट गिरफ्तार गरी सूर्यविनायकको जंगलमा लगेर गोली हानी ‘इन्काउन्टर’ भएको भन्ने प्रहरीको दाबीमा छानबिन गरिने बताएका थिए। तर त्यस्तो प्रतिबद्धता जनाएको भोलिपल्टै गृहमन्त्री थापाले ‘फेक इन्काउन्टर’ हल्ला मात्रै भएको बताएका हुन्।
राज्यव्यवस्था तथा सुशासन समितिमा जानुअघि गृहमन्त्री थापालाई बिहीबार बिहान महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मन्त्री निवासमै गएर बालक अपहरण तथा हत्या र अपहरणकारी इन्काउन्टरबारे बिफ्रिङ गरेका थिए। सो बिफ्रिङमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धीरजप्रताप सिंहको टोलीले बालक अपहरण र त्यसपछि भएका घटनाक्रमका बारेमा जानकारी गराएको हो। गृहमन्त्रीनिकट स्रोतले जनाएअनुसार महाशाखाका प्रमुख सिंहले सो घटना बाहिर आएजस्तो नभई प्रहरीमाथि आइलागेका कारण जबाफी फायर गर्नुपरेको र त्यसक्रममा उनीहरूको मृत्यु भएको बताएका थिए । गृहमन्त्री थापालाई महाशाखा प्रमुख सिंहले निशान खड्का र उनको परिवारसँग परिचित रहेका गोपाल तामाङ र अजय तामाङले अपहरण गरेको तथा उनीहरूले नै हत्या गरेको जानकारी गराएका थिए । अपरेसनमा खटिएको टोलीले दुवैलाई नियन्त्रणमा लिएर सोधपुछ तथा कुटपिट गरेको भन्ने सबै कुरा झुटो भएको महाशाखा प्रमुखले बताएका थिए। त्यतिबेला गृहमन्त्रीले कुनै जबाफ फर्काएका थिएनन्। ‘उहाँले महाशाखा प्रमुखको बिफ्रिङ सुन्नुभयो तर कुनै जबाफ पर्काउनुभएन,’ स्रोतले भन्यो।
एक दिनकै फरकमा गृहमन्त्री थापाको दुईथरी अभिव्यक्ति सार्वजनिक भएपछि उनका सुरक्षा सल्हाकार डा. इन्द्रजित राईले राज्यव्यवस्था समितिमा मन्त्रीले दिएको अभिव्यक्ति नै आधिकारिक हुने दाबी गरेका छन्। प्रमाणका आधारमा जाँचबुझ समिति गठन हुने भएकाले राज्यव्यवस्था समितिमा गृहमन्त्रीले दिएको अभिव्यक्ति नै आधिकारिक भएको उनले बताए।
‘गृहमन्त्रालय मातहतका प्रहरी कर्मचारीले मन्त्रीज्यूलाई गरेको बिफ्रिङअनुसार उहाँले अभिव्यक्ति दिनुभएको हुनसक्छ तर इन्काउन्टर शंकाको घेरामा आएपछि जाँचबुझ हुनु जरुरी छ, सरकारले प्रमाणका आधारमा त्यसको छानबिन गर्छ,’ राईले भने, ‘सो घटना हुँदा मन्त्रीज्यू र म इन्डोनेसियाको बालीमा थियौं, त्यो इन्काउन्टर मन्त्रीको आदेशमा भएको होइन। मन्त्री र मन्त्रालयलाई बद्नाम गराउन पनि फेक इन्काउन्टर भएको हुनसक्छ।’ उनका अनुसार गृहमन्त्रीलाई प्रहरी महानिरीक्षक र महाशाखा प्रमुख दुवैले अपहरणकारीको मृत्यु मुठभेडमै भएको बिफ्रिङ गरेका छन्। ‘सुरक्षाकर्मीले बिफ्रिङ गरेजस्तो मात्र नभई इन्काउन्टर शंकाको घेरामा आएपछि जाँचबुझ हुनुपर्छ, मन्त्रीज्यू प्रहरी कर्मचारीले गरेको बिफ्रिङलाई मात्रै पत्याएर बस्नुहुन्न,’ उनले भने।
गत आइतबार साँझ ११ वर्षीय निशान खड्काको अपहरणपछि हत्या भएको थियो। बाहिर खेल्न निस्केको समयमा परिचत व्यक्तिहरुले नै लगेर उनको मुखमा रुमाल कोचेर हत्या गरेका थिए। सोमबार विहान अपहरणकारी गोपाल तामाङ र अजय तामाङलाई डेराबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपनि प्रहरीले उनीहरु भागेर भक्तपुरको सूर्यविनायकस्थित पाईलटबाबा आश्रम नजिक पुगेको र त्यहा मुठभेड हुँदा प्रहरीको कारवाहीमा मारिएको दावी गरेको छ। स्थानीय बासिन्दा र गोपालका घरधनी श्याम लबटले घरैबाट पक्राउ गरेको भनेपछि प्रहरीको सो दावी विवादमा परेको थियो। प्रहरीले भनेजस्तो इन्काउन्टर विवादमा परेपछि राष्ट्रिय मानवअधिकार आयोगले समेत अनुसन्धान प्रकृया अघि बढाएको छ। अपहरणकारीलार्ई प्रहरीले चलाएको गोलीको ‘ब्लाष्टिक’ परीक्षण गर्न विज्ञ नियुक्त गरिसकेको आयोगले जनाएको छ।
प्रकाशित: २७ श्रावण २०७५ ०३:१७ आइतबार