राजनीति

दोलखाली कम्युनिष्टका ‘अपजसिला’ शक्ति केन्द्र

दोलखा– बहुदल यताका २०४८ बाहेक सबै संसदीय चुनाव लड्न तत्कालिन एमाले पार्टीको तर्फबाट टिकट लिएर निर्वाचनहरुमा होमिएका जिल्लाका पुराना कम्युनिष्ट नेता नेता आनन्द पोखरेल गत मंसिरको प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन टिकट बिनै रित्तो हात जिल्ला फर्कदा उनका निकटवर्तीहरुले थुप्रै लख काटे। 

निकट कार्यकर्ता आश्चर्यमा पर्नुका थुप्रै कारण थिए। बहुदल यताका ४ ओटा संसदीय र एउटा तत्कालिन जिविस सभापतिको निर्वाचनमा पार्टीको तर्फबाट टिकट लिएर प्रतिष्पर्धा गरेका पोखरेल भलै दुई ओटामा मात्र सफल भए। तर कम्युनिष्ट गढ दोलखामा तीन दशकदेखि यी पुराना नेताको बोलवाला चल्दै आएका थियो। जिल्लाको तत्कालिन एमालेका शक्ती केन्द्र थिए उनी।
हरेक निर्वाचनहरुमा टिकट लिएर तामझाम सहित उम्मेदवारी दर्ता गराउन जिल्ला फर्कने उनी अघिल्लो चुनावमा रित्तो हात एक्लै जिल्ला आउदै गर्दा पोखरेलको राजनिति यात्रामा ब्रेक लागेको होकी भनेर जिल्लामा अन्दाज र टिप्पणीहरु चुनाव अवधीभर भइरहे।

तत्कालिन एमाले कार्यकर्ताहरुले यो लख काट्नु स्वभाविक नै थियो। किनकी उनैले २०५४ को  तत्कालिन जिल्ला विकास समितिको सदस्य हुँदै जिल्ला पार्टी अध्यक्ष समेत बनाएर आफैले स्थापित गराएका आफु भन्दा कनिष्ट पार्वत गुरुङले प्रतिनिधि सभाको टिकट हात पारेर पोखरेल सहित पोलिटब्युरो सदस्य पशुपति चौलागाईलाई पछि पारेका थिए। गुरुङले देशभरीमै सबै भन्दा बढी मतान्तरले निर्वाचन जितेका कारण पार्टीको राष्ट्रिय राजनीतिमा छाप बनाइरहँदा पोखरेलको राजनितिक यात्रा पछि परेको बिश्लेषण गर्ने कार्यकर्ताहरु प्रशस्त भेटिन्थे। 

कम्युनिष्ट गढ दोलखा जिल्लाको पार्टी कमिटीभित्र पकड रहेपनि पार्टी केन्द्रमा कहिल्यै प्रतिनिधित्व गर्न नसकेका पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले नव गठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य नियुक्त गरेपछि उनको राजनीतिक चर्चा जिल्लामा फेरि चुलिएको छ। 

२०४९ मा जिविस सभापति, २०५१ मा दोलखा १ मा सांसद, २०५६, २०६४, र २०७० मा दोलखा २ का सांसद लडेका उनी ५६ र ७० मा विजयी भए। २०७२ मा केपी ओलीको सरकारमा पर्यटन मन्त्री पनि भए। 

आफैले स्थापित गरेका पार्वत गुरुङ केन्द्रिय सदस्य हुँदै देशभरीमै बढी मतान्तरले प्रतिनिधि सभा सदस्य जितेको, समकक्षी पोलिटब्युरो सदस्य पशुपति चौलागाई प्रदेश सांसद बनेपनि आफु पार्टीको साधारण सदस्य र दोलखा एमालेका औपचारिक समारोहहरुमा पुर्व मन्त्रीको हैसियतमा मात्र रहनुपरेको पीडा उनलाई थियो। जिल्लाका नेताहरु पोलिटब्युरो सदस्य चौलागाई, केन्द्रिय सदस्यहरु गुरुङ, ईश्वरी रिजाल, रचना खड्का यस अघि नै केन्द्रिय समितिमा प्रतिनिधित्व गर्थे। 

२०५४ यता दुई पटक दोलखा एमालेको नेतृत्व सम्हाल्दै बहुदल यताका प्रत्येक चुनावको स्वाद चाखेका पोखरेलले तत्कालिन एमालेको आठौं र नवौं महाधिवेशनमा केन्द्रिय सदस्य लडेपनि विजयी हुन सकेनन्।  

स्पष्ट वक्ता पोखरेल जिल्लाको विकासमा सक्रिय छन्। सांसद नहुँदा समेत कार्यक्रमहरुमा उतिकै सक्रिय छन्। पार्टी संगठनमा पकड र गाउँ, वडा तथा बस्ती र टोल सम्मै सहज र सरल सम्पर्क भएका दोलखाका थोरै मध्येका नेता पोखरेलले तत्कालिन दोलखा एमालेमा आफैले स्थापित गरेका ठुला नेता भने उनको साथमा कहिल्यै रहेनन्। प्रतिनिधि सभा सदस्य गुरुङलाई पोखरेलकै जोडबल र समर्थनमा दोलखा एमालेको पार्टी अध्यक्ष बनाएका थिए। पार्टीका हालका जिल्ला अध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष नर श्रेष्ठ, जिल्ला समन्वय समितिका संयोजक डबल पाण्डे लगायत थुप्रैलाई उनैले राजनीतिमा स्थापित गराएका हुन्। तर स्थापित भएका उनीहरु थुप्रैले पोखरेललाई छाड्दै गए।  

दोलखाली कम्युनिष्टका लोकप्रिय नेता पोखरेललाई गुरुङ लगायतको समुहले उछिन्दै गर्दा अघिल्लो साता जिल्लाको सुनखानीमा आयोजित एक कार्यक्रममा उनले घोषणा गरेका थिए– ‘आनन्द पोखरेलले राजनीति छाडेको छैन, २० बर्षसम्म अझै दोलखाका जनताको सेवा गर्छु।’ उनले घोषणा गरेर राजधानी फर्किएको भोलिपल्ट माओवादी केन्द्र र एमालेबीच पार्टी एकता भयो र पार्टी अध्यक्ष ओलीले उनलाई केन्द्रिय समितिमा मनोनित गर्ने ४१ जना भित्र पारेर केन्द्रिय सदस्य नियुक्त गरे।

प्रकाशित: ७ जेष्ठ २०७५ १५:५१ सोमबार

दोलखाली कम्युनिष्टका अपजसिला शक्ति केन्द्र