राजनीति

अस्थिरताको व्यूहरचनामा राजावादी

मुलुकमा लोकतन्त्र स्थापनाको १९ वर्ष पुग्नै लाग्दा राजसंस्था पुनर्स्थापनाको माग राखेर राप्रपालगायतका विभिन्न समूहले आन्दोलनको घोषणा गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल, दुर्गा प्रसाईं समूह र पूर्वपञ्च नवराज सुवेदीको समूहले राजसंस्थाको पक्षमा छुट्टाछुट्टै आन्दोलन घोषणा गरेका छन्। यी सबै समूह मिलेर राजालाई गद्दीमा फर्काउने दाबी गरिरहेका छन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलका अनुसार राजावादीहरूले लोकतन्त्रको विरुद्धमा गरेको आन्दोलन केही दिन र केही समयमा विभाजित हुनेछ। ‘पूर्वराजाले फागुन ७ गते एउटा वक्तव्य जारी गरेकै भरमा गरिने आन्दोलनले राजा फर्कन सक्ने सम्भावना म देख्दिनँ तर यसले मुलुकमा अस्थिरता भने अवश्य निम्त्याउने छ। यसतर्फ सचेत हुन जरुरी छ,’ पोखरेलले भने। उनका अनुसार राजावादीहरू अहिले पनि संगठित रूपमा अघि बढ्न सकेका छैनन् र उनीहरूको योजना पनि प्रष्ट छैन।  

गत मंगलबार बसेको राप्रपा मूल आन्दोलन समितिको बैठकले निरन्तर आन्दोलन गर्ने निर्णय गरेको छ। चैत २६ गते काठमाडौँमा विशाल सभा गर्ने उसले भनेको छ। राप्रपाका अनुसार चैत १६ गतेदेखि नै देशभर साना तथा ठूला कार्यक्रम आयोजना हुनेछन्। ‘राप्रपा एउटा संसदीय राजनीतिमा आएको पार्टी हो। उसले आन्दोलन गर्न सक्छ। ऊ सरकारमा जान सक्छ। उसले अन्य रूपमा पनि आफ्ना अजेन्डा उठाउन सक्छ तर राजा ल्याइहाल्ने र गणतन्त्र गइहाल्ने परिस्थिति भने छैन,’ पोखरेलले भने।  

राप्रपाले समान विचार भएका पार्टी तथा समूहलाई साथ लिएर अघि बढ्ने, वैशाख पहिलो सातादेखि आन्दोलनलाई व्यापक बनाउने निर्णय गरेको छ। राप्रपाको यसअघि बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणा भएका विभिन्न आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको थियो। सोहीअनुसार उसले पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउँदा जुलुससहित स्वागत गरेको थियो। राजसंस्थाको पक्षमा नवराज सुवेदी र दुर्गा प्रसाईंको नेतृत्वमा छुट्टै आन्दोलनको कार्यक्रम तय भएको छ। राप्रपाले पनि राजसंस्था फर्काउने निर्णायक आन्दोलन भनेको छ।  

केही समयदेखि राजावादीहरूले देशका विभिन्न भागमा नाराजुलुस गरेर सक्रियता बढाइरहेका छन्। उनीहरूले आयोजना गरेको जुलुसमा अहिले पूर्वपञ्चहरू मात्र सहभागी भएका छैनन्। त्यसमा अहिलेको राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउने समूह पनि सक्रिय छन्। अहिले दुईवटा समूह सहभागी भएर राजसंस्था फर्काउने आन्दोलन चलिरहेको छ। लोकतन्त्र पक्षधर राजनीतिक दलहरूप्रति असन्तुष्ट रहेका विभिन्न समूह आन्दोलनमा सहभागी हुँदा आन्दोलन आह्वान गर्नेलाई हौसला पनि बढेको छ।  

उनीहरूले ठाउँठाउँमा जुलुसको आयोजना बेग्लाबेग्लै संस्थाले गरेको देखाएका छन्। उनीहरूले स्थानीयस्तरमा स्थानीयले नै जुलुस आयोजना गरेको जस्तो भान पारेका छन्। तर मुख्य वक्ताहरू उनीहरू र अन्य गतिविधिमा पनि उनीहरू नै संलग्न भएकाले त्यो जुलुस सुनियोजित भएको स्पष्ट हुन्छ। उनीहरूले हिन्दु राष्ट्र घोषणाको माग पनि गरेका छन्। उनीहरूले राजसंस्था र हिन्दु राष्ट्रका विषयमा जनमत संग्रह गरी निर्णयमा पुग्नुपर्नेमा पनि जोड दिन थालेका छन्।  

मुलुकमा गणतन्त्र आएपछि जनताले गरेको अपेक्षा पूरा हुन नसक्दा अहिलेको अवस्था सिर्जना भएको हो भन्ने कुरालाई गणतन्त्रवादी नेताहरूले अस्वीकार गरेका छैनन्। दलका नेताहरू अधिकांश आआफ्नै स्वार्थमा डुबेका छन्। सरकारमा जानेहरूले सुशासन कायम गर्न सकेनन्। उनीहरूले सत्ताकै लागि आपसमा लडाइँ गरिरहने र जनताको समस्यामा ध्यान नदिएपछि राजावादीले टाउको उठाउने ठाउँ पाएका हुन्।  

२०७४ सालको निर्वाचनका बेला राजनीतिक पार्टीले दुई तिहाइ बहुमत पाएमा स्थिर सरकार बन्छ र सरकारको ध्यान विकास निर्माणतिर केन्द्रित हुन्छ भनिएको थियो। दलहरूले दुई तिहाइ बहुमत पनि पाए। तैपनि स्थितिमा कुनै सारभूत परिवर्तन आएन। सत्तारुढ पार्टीका नेताहरूको चाला हामी सबैको अगाडि प्रष्ट छ। राजनीतिशास्त्रका प्राध्यापक पोखरेलका अनुसार अहिलेको अवस्थामा निर्णायक आन्दोलन वा राजा फर्काउने आन्दोलनको नेतृत्व गर्ने पंक्ति पनि विश्वासयोग्य छैन।  

मन्दिर दर्शनका नाममा भ्रमण
पूर्वराजा ज्ञानेन्द्रले वर्षैपिच्छे मन्दिर धाउने र देश दौडाहा गर्दै आइरहेका छन्। उनले आफ्ना समर्थकलाई उचालेर मुलुकमा अस्थिरता निम्त्याउन चाहेको प्रष्ट हुन्छ। उनले जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने भन्दै बेलाबखतमा अभिव्यक्ति दिने गरेका छन्। मन्दिर दर्शनका नाममा ज्ञानेन्द्र भ्रमणमा निस्केका बेला समर्थकहरूले केही मानिस भेला गरेर जनअपेक्षाअनुसार सरकारबाट काम नभएको भन्दै उनलाई सार्वजनिक अभिव्यक्ति दिन उक्साउने गरेका छन्।  

योगी आदित्यनाथसँग भेट
गत पुसको तेस्रो साता पूर्वराजा ज्ञानेन्द्र भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर फर्केपछि आन्दोलन गर्ने केही समूहले भारतले राजा ल्याइदिने हल्ला चलाए। नेपालमा बहुदलीय व्यवस्था र गणतन्त्रको स्थापनामा भारतकै सहयोग रहेको र पूर्वराजालाई राजगद्दीमा फर्काउन पनि भारत सहयोगी हुने हल्ला चलाइयो। ज्ञानेन्द्रले पुस तेस्रो साता लखनउस्थित आदित्यनाथको सरकारी निवासमा उनीसँग भेट गरे पनि के–के विषयमा कुराकानी भयो भन्ने अहिलेसम्म केही खुलाइएको छैन। नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दिँदै आएका आदित्यनाथसँग ज्ञानेन्द्रले गरेको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रहेको भनियो।

आदित्यनाथ पछिल्लो पटक गत वर्ष नेपालमा भएको विराट विश्व हिन्दु सम्मेलनमा भाग लिन आएका थिए। त्यतिबेला पनि राजावादी एउटा समूहले राजा पुनर्स्थापना हुने हल्ला चलाएको थियो।  

विभाजित राजावादी
पूर्वराजा ज्ञानेन्द्र फागुन २५ मा पोखराबाट काठमाडौँ फर्कंदा राजावादीका विभिन्न समूहले स्वागत गरेका थिए। राप्रपाका नेताहरू, दुर्गा प्रसाईं समूह, कमल थापा, स्वागत नेपाललगायत स्वागतमा सहभागी भएका थिए। त्यसबाट उत्साहित भएर पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा आन्दोलन गर्नेगरी कार्यक्रमहरू सार्वजनिक गरियो। त्योसँगै राजावादीहरू विभाजित भए। अहिले खास राजावादी समूह कुन हो भनेर जनतामा अन्योल छ। प्रसाईं समूहले आफूहरूको आन्दोलनप्रति राप्रपाका नेताहरू लोभिएको बताउँदै आएको छ।

योजनाबिनाको आन्दोलन
विगत लामो समयदेखि राजसंस्थाको पक्षमा वकालत गर्दै आएका राजावादीहरू संसदीय राजनीतिमा छन्। उनीहरू अहिलेको संविधानअनुसार लोकतान्त्रिक विधिबाट संसदीय राजनीतिमा आएका हुन्। जतिसुकै वकालत गरे पनि राजतन्त्र फर्काउन राजावादीहरूका अगाडि दुईवटा मार्ग रहेका छन्। ती मार्ग हुन्– निर्वाचन प्रणालीमार्फत चुनाव जितेर दुई तिहाइ बहुमतबाट संविधान संशोधन गर्ने र विद्रोहबाट सत्ता कब्जा गर्ने।

राजावादीहरूले यी दुवै प्रक्रिया अपनाउन कुनै योजना सार्वजनिक गरेका छैनन्। अहिलेको अवस्थामा सामाजिक सञ्जालमा उठेको असन्तुष्टिका आधारमा आन्दोलन हुने उनीहरूको बुझाइ छ। अहिले देखिएको भीडमा के सबै राजावादीहरू छन् त भन्ने प्रश्न पनि उठेको छ। के राजावादीहरूले निर्वाचनबाट दुई तिहाइ मत ल्याउन सक्ने सम्भावना छ? यो विषयमा जनमत राजावादीको पक्षमा भन्दा नयाँ राजनीतिक दलहरूसँग केही मात्रामा बढी हुन सक्छ।

विद्रोहबाट सत्ता कब्जा गर्न नेपाली जनता विद्रोहमा उत्रिनुपर्छ। सैनिक ‘कु’ गर्ने भन्ने हो भने वैदेशिक शक्तिहरू खुला रूपमा अगाडि आएर समर्थन गर्नुपर्ने हुन्छ। यस्तो सम्भावना पनि देखिँदैन।

प्रकाशित: १४ चैत्र २०८१ ०६:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App