कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं आउने तयारी गरिरहेका छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले बिहीबार लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।
बिहीबार नै धरौटी बुझाएका लामिछाने शुक्रबार काठमाडौं आउने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
झाले भने, 'अहिले काठमाडौं आउने तयारी भइरहेको छ। काठमाडौं आएपछि उहाँ आफै अदालत उपस्थित हुनुहुनेछ।'
कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अनियमितता गरेको भन्दै रविविरुद्ध काठमाडौं जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ ।
प्रकाशित: २६ पुस २०८१ १२:२९ शुक्रबार