राजनीति

मप्रतिको युवाहरूको समर्थनलाई बामालेले 'राजावादी' भन्यो : भीम रावल

मातृभूति जागरण अभियानका क्रममा देश दौडाहामा रहेका डा. भीम रावलले आफ्नोबारे कुप्रचार गरिएको बताएका छन्। 

बुधबार साँझ उनले फेसबूक ह्यान्डलमा लेखेका छन्, 'विराटनगर र सुनसरीको भ्रमणमा जाँदा देशभक्त युवाहरूले मलाई साथ दिएकोमा बामालेहरूले 'भीम रावल राजावादी भयो' भनी प्रचार गरेछन्।'

उनले त्यो हाँस्यास्पद भएको पनि बताएका छन्। 'भ्रष्ट, बिचौलिया, कम्युनिष्ट पार्टीले प्रतिक्रयावादी भनेकाहरूसँग पद र सत्ताको लागि घाँटी जोड्ने केपी ओलीका बामालेहरूले देशभक्त युवा-युवतीहरूको मप्रतिको समर्थनलाई राजावादी भन्नु हाँस्यास्पद छ,' उनले भनेका छन्।

उनले अगाडि भनेका छन्, 'हामी आन्दोलनमा रहेको बेला पञ्चातको आमा भनी चिनिने डा. तुलसी गिरीसँग गोप्य साँठगाँठ गर्ने, चुनाव जित्न झापामा राजेन्द्र लिङ्देनसँग साँठगाँठ गरी एमालेहरूलाई हलोमा मतदान गर्न लगाउने, एमाले कार्यकर्तालाई रुवाएर राप्रपा नेपालका सभापतिलाई मकवानपुरमा उम्मेदवार बनाउने, होली वाईन टाउकोमा राख्नेहरूले राजावादी भने।'

उनले देश र जनताको सर्वोपरी हित, स्वाधीनता र स्वाभिमान चाहने र भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध उभिने सम्पूर्ण देशभक्तहरूलाई एकजुट हुन आह्वानसमेत गरेका छन्। 

प्रकाशित: २४ पुस २०८१ १९:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App