नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । कृषि प्रधान देशमा चामल नै भारतमा निर्भर हुनुपर्ने अत्यन्त गम्भीर चिन्ताको विषय भएको उनले बताए ।
भक्तपुर उद्योग वाणिज्य संघको बुधबार भक्तपुरमा भएको ३७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सुवालले कमसेकम खाद्यान्नमा भए पनि देश आत्मनिर्भर हुनुपर्ने खाँचो औँल्याए । भारतले दाल चामल पठाएन भने के हामी ढुङ्गा खाएर बस्ने ? उनले प्रश्न गरे ।
सहर केन्द्रित बसाइसराई चिन्ताको विषय भएको भन्दै उनले बसाइसराईलाई जिल्लामै सीमित गर्नुपर्नेमा जोड दिए । एउटा जिल्लाबाट अर्को जिल्लामा बसाइसराई नगरी आफनै जिल्लामा मात्रै बसाइसराई गर्न पाउने बन्दोबस्त आवश्यक भएको उनले बताए । त्यसका लागि सन्तुलित विकाश आवश्यक भएको उनको भनाई थियो । सन्तुलित विकासले बसाइसराई न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको बुझाई थियो ।
प्रकाशित: २४ पुस २०८१ १७:३८ बुधबार