राजनीति

खेलकुदलाई पर्यटन र अर्थतन्त्रसँग जोड्न सांसदहरुको जोड

सांसदहरुले खेलकुद क्षेत्रलाई पर्यटन प्रवर्द्धन र अर्थतन्त्रसँग जोडेर अगाडि बढाउन सरकारलाई विशेष ध्यान दिन आग्रह गरेका छन्।

बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै सांसदहरुले नेपाल खेलकुद क्षेत्रको ‘हब’ बन्न सक्ने सम्भावना औंल्याउँदै सोहीअनुसार योजना र बजेटको व्यवस्था गर्नुपर्ने आवश्यकता व्यक्त गरे।

नेकपा (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहराले खेल क्षेत्रको विकासका लागि युवा तथा खेलकुद मन्त्रालयले तदारुकता देखाउनुपर्नेमा जोड दिए।

उनले समस्याको मात्र सूची तयार गर्नेभन्दा पनि बजेट सुनिश्चित गरेर समस्या समाधानतर्फ अघि बढ्नुपर्ने जनाए। अन्तर्राष्ट्रिय स्तरका खेलाडी जन्मिए पनि गुणस्तरीय रंगशाला निर्माण गर्न नसक्नु दुःखद भएको उनको धारणा थियो।

नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले नेपालसँग खेलकुदका लागि विश्वमै चर्चित हुनसक्ने आधार र स्थानहरू रहेको उल्लेख गरे। तर, खेल क्षेत्रको भौतिक पूर्वाधारमा राज्यको लगानी प्रभावकारी नभएको उनको गुनासो थियो। खेल क्षेत्रलाई प्रोत्साहित गर्ने योजनाहरु सरकारले प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको उनले बताए।

नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले फुटबल र क्रिकेट संसारभरकै लोकप्रिय खेल भए पनि नेपालमा अन्तर्राष्ट्रिय स्तरका रंगशालाको अभावले खेलकुदबाट आर्थिक लाभ उठाउन समस्या भएको बताए। उनले क्रिकेटप्रतिको आकर्षण दिनदिनै बढिरहेको भन्दै सरकारले यो क्षेत्रमा गम्भीर ध्यान दिनुपर्ने धारणा राखे।

नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले अहिले देशको कमजोर आर्थिक अवस्थाले विकास निर्माणमा बाधा पुर्‍याइरहेको बताए। उनका अनुसार सार्वजनिक ऋण दायित्व २५ खर्बभन्दा बढी रहेको र राजस्वले नियमित प्रशासनिक खर्च धान्नसमेत कठिन भइरहेको छ। यस्तो अवस्थामा खेलकुदमा पर्याप्त पूर्वाधारको अभावले सम्भावनाहरूलाई प्रोत्साहन गर्न नसकेको उनले उल्लेख गरे।

सांसदहरुले खेल क्षेत्रलाई केवल खेल मात्र नभई पर्यटन र आर्थिक विकाससँग जोडेर अघि बढाउन सरकारलाई सुझाव दिएका छन्। खेलकुदबाट राज्यलाई आर्थिक रूपमा सबल बनाउन र सम्भावनाका क्षेत्रहरूलाई प्रोत्साहन गर्न सबै पक्षले साझा प्रयास गर्नुपर्नेमा उनीहरुले जोड दिए।

प्रकाशित: २४ पुस २०८१ १६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App