राजनीति

एकपटक देशको नेतृत्व गर्न चाहन्छौं: महासचिव चन्द

फाइल।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले एकपटक देशको नेतृत्व गर्ने लक्ष्य राखेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै चन्दले नेकपाले क्रान्तिकारी ध्रुवीकरणमार्फत देशको नेतृत्व र सेवा गर्न चाहेको उल्लेख गरे। उनले पार्टीको हालको एकता केवल सुरुवात भएको बताउँदै आगामी दिनमा थप एकताका अभियानहरू अघि बढ्ने विश्वास व्यक्त गरे।

महासचिव चन्दले नेकपाको एकता कुनै दरबार खान, टिस्टेट उपभोग गर्न, जग्गा हिनामिना गर्न वा मन्त्री भएर देशको पैसा विदेश पठाउनका लागि नभएको स्पष्ट पारे।

उनले अन्य राजनीतिक दलहरूका नेताहरूले विदेशमा पैसा पठाएको आरोप लगाउँदै भने, “हाम्रो देशको पैसा विदेशमा टनाटन छ। हाम्रो अभियान भनेको देशको समृद्धि र स्वाभिमानका लागि हो।”

उनले देशका लागि क्रान्तिकारी ध्रुवीकरण आवश्यक रहेको भन्दै पार्टीले यो जिम्मेवारी पूरा गर्न प्रतिवद्धता जनाउँदै आएको सुनाए। चन्दले भने, “हामी क्रान्तिकारीहरूले यो देशको नेतृत्व गर्न चाहन्छौं। अहिलेको एकता सुरुवात मात्र हो, तर यसले ठूलो परिवर्तनको ढोका खोल्नेछ।”

महासचिव चन्दले अरू राजनीतिक दलहरूले अघि सारेका ध्रुवीकरण र एकताका प्रयासमा नयाँपन नरहेको टिप्पणी गरे। उनले नेकपाको उद्देश्य देशको स्वाभिमान र समृद्धिका लागि नेतृत्व गर्नु भएको भन्दै अन्य दलका एकताभन्दा आफ्ना प्रयास फरक भएको दाबी गरे।

प्रकाशित: २० पुस २०८१ १७:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App