राजनीति

कोशी प्रदेश सरकारविरुद्ध आन्दोलन चर्काउने राप्रपाको चेतावनी

राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश समितिद्वारा इटहरीमा आयोजित पत्रकार सम्मेलन। तस्बिर: नागरिक

कोशी प्रदेश सरकारले जनतालाई सेवा प्रवाह गर्दा पक्षपात गरेकाले सुधार नभए त्यसविरुद्ध कडा आन्दोलन चर्काउने राष्ट्रिय प्रजातन्त्र पार्टीले चेतावनी दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश समितिले इटहरीमा पत्रकार सम्मेलन गरी सबै सर्वसाधारण जनताले सेवामा लाभ पाउनुपर्ने जनायो।

प्रदेश अध्यक्ष रामकुमार थापाले प्रदेश सरकारले जनतालाई आधारभूत सेवा प्रवाह गर्न नसकेको र सेवाबाट प्रवाह भएको अवस्थामा पनि पक्षपात गरेको बताए। ‘प्रदेश सरकारबाट जसले जसले लाभ पाएका छन्, तिनीहरू सत्तारुढ दल निकटकाले मात्र प्राप्त गरेका छन्। बढी मात्रमा एमालेका कार्यकर्ताले लाभ लिएका छन्।’ उनले प्रदेश सरकारको शैली परिवर्तन नभए त्यसबिरुद्द कडा रुपमा उत्रने बताए।

‘अब बस्ने संसदमा हाम्रा सांसद कडा रुपमा प्रस्तुत हुनेछन,’ उनले भने, ‘संघीय सरकार र प्रदेश सरकारबाट सङ्घीयताको मर्म अनुसार कुनै काम हुन सकेको छैन।’ दमक नगरपालिकाका मेयर समेत रहेका थापाले संघीय सरकारको बजेटमा केही दिनअघि दमकमा निर्माण भएको भ्यू टावर उद्घाटनकै क्रममा स्थानीय सरकारलाई कुनै चासो नदिएको जनाए। ‘निम्तो आएपछि कार्यक्रममा उपस्थित भएको र त्यस क्रममा शुभकामना मन्तब्यमात्र राख्न दिइयो,’ उनले भने, ‘संघीय सरकारले पनि तीन तहको संरचनालाई स्वीकार गरेकै छैन।’

९३ सदस्यीय कोशी प्रदेशमा सभामुखसहित छ सिट राप्रपाको रहेको छ। कांग्रेस र एमालेको संयुक्त गठबन्धनमा एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्की रहेका छन्।

यसैबिच, राप्रपा नेपालले संघीयता खारेजी र प्रजातन्त्रसहितको राजतन्त्रको माग राखेर यही पुस १३ गते इटहरीमा बिरोधसभा गर्ने भएको छ। त्यस क्रममा कोशी प्रदेश सरकारका विकृतिलाई पनि प्रस्तुत गरिनेछ। त्यस क्रममा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र हुनुपर्ने, सहकारीमा बचत गर्नेको रकम फिर्ता गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही, शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुँच हुनुपर्ने एवम् भूमिहीन तथा सुकुम्वासीलाई जग्गा वितरण गर्नुपर्ने माग राखेर बिरोधसभा गर्न लागिएको अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी दिए। राप्रपा नेपालको केन्द्रीय सकुर्लर अनुसार कोशी प्रदेशबाट सुरु भएको बिरोधसभा अरु सबै प्रदेशमा सकिएपछि केन्द्रीय बिरोधसभामार्फत आन्दोलनका चरणबद्ध कार्यक्रम सार्वजनिक गरिने जानकारी दिइयो। 

प्रकाशित: ७ पुस २०८१ १८:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App