राजनीति

बजेट पुनरावलोकन हुने सम्भावना छैन: मन्त्री राई

कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले कोशी प्रदेशको बजेट पुनरावलोकन हुने सम्भावना नभएको बताएका छन्।

आइतबार मन्त्रालयको एक सय दिनको उपलब्धि सार्वजनिक कार्यक्रममा मन्त्री राईले प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट कार्यान्वयनमा गइसकेका कारण पुनरावलोकन हुने सम्भावना नरहेको बताएका हुन्। राईले भने ‘बजेट कार्यान्वयन भइसकेकाले पुनरावलोकन सम्भव छैन।’

यस अघि कोशी प्रदेशको सत्तारुढ दुई दलीय संयन्त्रले कोशी प्रदेशको बजेट पुनरावलोकन गर्ने निर्णय गरेको थियो। दुई दलीय संयन्त्रको बैठकले कोशी प्रदेशको चालु आर्थिक वर्षको बजेट पुनरावलोकनका लागि प्रदेश सरकारलाई निर्देशनसमेत दिएको थियो।

राईले कोशी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी समालेको एक सय दिनमा रुग्ण आयोजनाहरूको स्थलगत अनुगमन गरेको, नजिकै पक्की पुल भएका कोशी प्रदेशका झोलुङ्गे पुलहरू अन्य आवश्यक स्थानमा स्थानान्तरण गर्न आवश्यक तयारी गरेको जानकारी दिए।

उनले प्रादेशिक सडक सञ्जाल सूची तयार पारेको, जसमा प्रादेशिक सहायक लोकमार्ग अन्तर्गत ९६ वटा सडक र प्रादेशिक मार्ग अन्तर्गत २ सय ८९ वटा सडक पहिचान गरेको बताए।

यी सडकहरूमा प्रादेशिक सहायक लोकमार्ग ३ हजार १ सय ६३.५८ किलोमिटर र प्रादेशिक मार्ग ५ हजार ८ सय १५.५० किलोमिटर रहेको छ।

यस्तै, असोजमा आएको बाढी पहिरोलगायतको विपद्‌बाट भएको क्षतिको विवरण सङ्कलन, सडक सुरक्षा कार्यक्रम सञ्चालन गर्नेलगायतका निर्णय गरी कार्यान्वयनमा लगिएको मन्त्री राईले सुनाए।

उनले मन्त्रालयमा सुशासनका लागि विभिन्न कामहरू गरेको जनाए। कोशी प्रदेशका स्रोत सुनिश्चित नभएका आयोजनाको पनि डिपीआर गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको मन्त्री राईले दाबी गरे।

उनले डिपीआरका नाममा अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई अन्त्य गर्न आफू लागिपरेको उल्लेख गरे।

प्रकाशित: ७ पुस २०८१ १८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App