राजनीति

काठमाडौंमा ‘तिब्बत तरंग’

भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामालाई तिब्बतको सबैभन्दा ठुलो धार्मिक नेता मानिन्छ। चीनले तिब्बतलाई आफूमातहत लिएपछि दलाई लामा भारत निर्वासमा गएका हुन्। उनी ६५ वर्षदेखि भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा बस्दै आएका छन्।

सन् २०२५ जुलाई ६ मा उनी ९० वर्षमा प्रवेश गर्दैछन्। लामाका अनुयायीले ९०औं वर्षगाँठलाई भव्य रूपले मनाउने तयारी गरेका छन्। त्यस्तै अनुयायीले लामाले गरेका भविष्यवाणीमाथि चिन्तन मनन गर्ने समय आएको पनि बताउन थालेका छन्। वास्तविक नाम तेन्जिङ ग्यात्सो रहेका उनलाई दलाई लामाको १४औं अवतारका रूपमा लिइन्छ।

निर्वासनमा रहेका लामाका अनुयायी र नेपालमा रहेका तिब्बती शरणार्थीले उनले गरेका भविष्यवाणीप्रति धेरै पटक छलफल गरिसकेका छन्। यस विषयमा भारतको हिमाञ्चलस्थित धर्मशालामा रहेको निर्वासित तिब्बत सरकारका दुई सांसदले नेपाल आई यहाँ रहेका तिब्बती शरणार्थीहरूसँग विशेष छलफलसमेत गरेका छन्। गत नोभेम्बर २८ मा नेपाल आएका उनीहरू एक साताअघि (डिसेम्बर १३ मा) भारत फर्किएका थिए।

लामाले पाँच वर्षअघि आफ्नो उत्तराधिकारी महिला हुन सक्ने बताएर अनुयायीलाई सोच्न बाध्य पारेका थिए। अहिले ८९ वर्षमा हिँडिरहेका लामाले अनुयायीहरूसँग आफ्नो आयुको सम्बन्धमा गरेको भविष्यवाणी पनि चर्चामा छ। लामाको आयुबारे काठमाडौं बौद्धस्थित एक गुब्बाका गुरुले अझै केही वर्ष लम्बिन सक्ने बताएका छन्। लामाका अनुयायी नेपाल, भारत र भुटानमा छन्।  

सन् २०१० मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनको विरोध हुँदाहुँदै पनि दलाई लामालाई भेटेका थिए। उनलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। ‘द गार्डियन’ले पाँच वर्षअघि तयार पारेको एक रिपोर्टअनुसार दलाई लामाले केही वर्षअघि अब आफ्नो पुनर्जन्म नहुने संकेत गरेका थिए। उनले आफ्नो पुनर्जन्म भए पनि चीन र तिब्बतबाहिर हुने र यसमा चीनले हस्तक्षेप नगर्ने बताएका थिए। तर उनले धर्मशालामा रहेका अनुयायीहरूलाई आफ्नो पुनर्जन्मको बेला भएको बताउन थालेका छन्। तर कहिले भन्नेचाहिँ खुलासा नगरेको सन्देश बोकेर ती दुई सांसद नेपाल आएका थिए। उनीहरू नेपालमा रहेका लामाका अनुयायीहरूसँग भेट र छलफल गरी फर्केका हुन्। ‘धर्मशालामा रहेका दुई सांसद नेपाल आएको जानकारी छ। उनीहरू भारतीय नागरिकका रूपमा नेपाल प्रवेश गरेका थिए,’ नेपाल सरकारका एक उच्च अधिकारीले भने।  

पन्चेन आएनन् तर यसैबीच दलाई लामाको ९०औं वर्षगाँठका अवसरमा पुनर्जन्मलगायतको समाचार सुनाउन निर्वासित तिब्बत सरकारका दुई सांसद भने काठमाडौं आए र गए।

चिनियाँ कम्युनिस्ट पार्टीले चीनमा जनगणतन्त्र स्थापनापछि तिब्बत कब्जामा लिएको विरोधमा तिब्बती धर्मगुरु दलाई लामाले सन् १९५९ मार्च १० मा विद्रोह गरेका थिए। विद्रोह सफल नभएपछि उनी आफ्ना केही अनुयायीसहित तिब्बतबाट भागेर भारतको हिमाञ्चलस्थित धर्मशाला पुगेका थिए। त्यही दिनलाई शरणार्थीले विद्रोह दिवसका रूपमा मनाउँदै आएका छन्। त्यतिबेला र पछि तिब्बतबाट भागेका तिब्बतीका लागि लामाले धर्मशालाबाट सरकार सञ्चालन गर्दै आएका छन्। मार्च १० मा विद्रोह दिवस भव्य रूपमा मनाउने विषयमा पनि धर्मशालाबाट नेपाल आएका ती सांसदले यहाँस्थित लामाका अनुयायीसँग छलफल गरेर थिए।  

सन् १९३३ मा १३औं दलाई लामा (थुप्तेन ग्यात्सो) को मृत्यु भएपछि उनको उत्तराधिकारी दुई वर्षका तेन्जिङ ग्यात्सोलाई १४औं दलाई लामा भएको घोषणा गरिएको थियो। उनको जन्म सन् १९३५ मा भएको हो। हिमाञ्चलस्थित धर्मशालामा अहिले झन्डै एक लाख तिब्बती बौद्ध मार्गी उनका अनुयायी छन्। नेपालमा तिब्बती शरणार्थीका १७ वटा शिविर छन्। १५ हजार पाँच सय १४ जना तिब्बती शरणार्थी दर्ता भएका छन्। काठमाडौं उपत्यकामा जाउलाखेल, बौद्ध, जोरपाटी, स्वयम्भू, फर्पिङलगायत क्षेत्रमा तिब्बती शरणार्थीको बसोबास छ। बौद्ध र जोरपाटीमा मात्रै पाँच हजार शरणार्थी बस्छन्। दर्ता नभएका शरणार्थी पनि धेरै छन्। २० वर्षयता नेपाल सरकारले तिब्बती शरणार्थीको दर्ता नवीकरण गरेको छैन। नेपाल आएका ती दुई सांसदले तिब्बती शरणार्थीको दर्ता नवीकरणका लागि नेपाल सरकारलाई कूटनीतिमार्फ जानकारी गराउने आश्वासन दिएको स्रोतको दाबी छ।

नेपालमा आएका दलाई लामा सरकारका प्रतिनिधि (सांसद) भारत फर्कने अघिल्लो दिन काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले नबौं ‘नानहाई बुद्धिजम राउन्ड टेबल’ सम्मेलनको उद्घाटन गरेका थिए। त्यो सम्मेलनमा चीन सरकारले धर्मगुरु घोषणा गरेका पन्चेन लामा (ग्यात्सेन नोर्बु) आउन खोजेका थिए। तर अन्तिम समयमा नेपाल सरकारले उनको भ्रमणलाई स्वीकृत दिएन। निर्वासनमा रहेका दलाई लामासँग विवाद चलिरहेका बेला चीनको विदेश मन्त्रालयले सन् २०११ मा चीन सरकारले अनुमोदन गरेको दलाई लामा (धर्मगुरु) लाई मात्र मान्यता दिने घोषणा गरेको थियो। तिब्बतमा कुनै विद्रोहको सम्भावना नहोस् भनेर चीनले पन्चेन लामालाई दलाई लामा घोषणा गरेको हो।  

नेपाल रहेका तिब्बती बौद्धमार्गीले समेत मान्यता नदिएका तर चीन सरकारले विश्वभरि नै दलाई लामाको आगामी उत्तराधिकारीको रूपमा स्थापित गर्न खोजेका पन्चेन नेपाल आउने विषयले मुलुकको कूटनीतिक क्षेत्रमा समेत हलचल पैदा भएको थियो। यही डिसेम्बर १२ मा काठमाडौंको याक एन्ड यती होटलमा ‘नानहाई बुद्धिजम राउन्ड टेबल’ कार्यक्रममा चीनका धर्मगुरु पन्चेन लामा आउने समचार बाहिर आएको थियो।  

सरकारले कूटनीतिक संयन्त्रमार्फत चीन सरकारले घोषणा गरेका धर्मगुरु पन्चेन लामालाई नेपाल भ्रमणमा रोक लगाएपछि उनलाई नेपाल ल्याउन खोज्नेहरू को हुन् भन्ने चासो बढेको थियो। पन्चेनलाई धार्मिक सद्भाव भ्रमणका रूपमा नेपाल ल्याएर बौद्धमार्गी नेताको रूपमा उभ्याउन खोज्नेहरूले नै उनलाई यहाँ ल्याउन खोजेका थिए। ल्याउन खोज्ने को थिए भन्नेबारेमा सरकार मौन छ। तीन दिनसम्म चलेको राउन्ड टेबलमा कम्तीमा २० देशका बौद्ध भिक्षुहरू उपस्थित भएका थिए। त्यही कार्यक्रमको सेरोफेरोमा चीनबाट २ सय २७ जना बौद्ध धर्मका अनुयायी लुम्बिनी आएर फर्केका थिए।

पन्चेन लामाले लामो समयदेखि नेपाल आउन चाहेको र यसका लागि नानहाई बौद्ध सम्मेलन उपयुक्त मानिएको थियो। तिब्बती बौद्ध परम्परामा पन्चेन लामा दलाई लामापछिको महत्वपूर्ण पद मानिन्छ। पन्चेन लामा पद हो। पन्चेन लामा कसलाई बनाउने भन्ने निर्धारण भारतमा बसेका दलाई लामाले गर्ने भए पनि सन १९९५ मा चीन सरकारले ग्यात्सेन नोर्बुलाई पन्चेन लामाका रूपमा नियुक्त गरेको थियो। त्यसअघि दलाई लामाले घोषणा गरेका पन्चेन लामालाई चीन सरकारले मान्यता दिएको थिएन। भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामाले १५ मे सन् १९९५ मा गेन्डुन चोकी न्युमालाई पन्चेन लामा नियुक्त गरेका थिए। दलाई लामाले गेन्डुनलाई पन्चेन लामा नियुक्त गरेको दुई दिनपछि चिनियाँ अधिकारीले उनलाई तिब्बतबाट उठाएर बेपत्ता पारी ग्यात्सेन नोर्बुलाई पन्चेन लामा घोषणा गरेका थिए।

चीन सरकारले पन्चेन लामाको रूपमा नियुक्त गरेका ग्यात्सेन नोर्बुलाई तिब्बतीहरूले अस्वीकार गर्दै आएका छन्। तिब्बतीको मानव अधिकारका लागि संघर्ष गरेको दाबी गर्ने पश्चिमा मुलुकहरूले पनि चिनियाँ सरकारले पन्चेन लामाका रूपमा नियुक्त गरेका ग्यात्सेनलाई अस्वीकार गर्दै आएका छन्। ग्यात्सेनको भ्रमण विश्वको जुनसुकै ठाउँमा भए पनि चीन सरकारले सुरक्षा दिन्छ। उनको साथमा चिनियाँ सुरक्षाकर्मी हुन्छन्। चीन सरकारले पन्चेन लामाका रूपमा नियुक्त गरेका ग्यात्सेन १३ फेब्रुअरी १९९० मा जन्मिएका हुन्। उनी चीनको बुद्धिस्ट एसोसिएसनका उपाध्यक्ष हुन्। आफूले पन्चेन लामाका रूपमा नियुक्त गरेका ग्यात्सेन नोर्बुलाई विश्व समुदायबाट अनुमोदित गराउन चीनले धार्मिक स्तरका उच्च बैठक/सम्मेलनहरूमा पनि सामेल गराउँदै आएको छ।  

चीनले राष्ट्रिय राजनीतिक सम्मेलनहरूमा पनि मुख्य व्यक्तिका रूपमा ग्यात्सेनलाई आमन्त्रित गर्छ। यति मात्र होइन, आन्तरिक र कूटनीतिक मामिलामा पनि चीन सरकारले पन्चेन लामाका रूपमा ग्यात्सेनलाई अगाडि बढाउने गरेको बताइएको छ। यही क्रममा ग्यात्सेनले आफ्नो नेपाल भ्रमणका लागि व्यवस्था मिलाउन लुम्बिनी विकास कोषलाई आग्रह गर्दै आएका थिए। उनले नेपालमा धार्मिक भ्रमण गराउन १० वर्षदेखि कोषलाई आग्रह गर्दै आएको सन्दर्भमा कोषका हालका उपाध्यक्ष ल्हारक्याल लामाले उनलाई ल्याउन खोजेको बताइन्छ। सन् २०१५, १७ र १८ मा लुम्बिनी आउने बातावरण मिलाउन उनका तर्फबाट विशेष आग्रह आएको बताउँदै ल्हारक्यालले यसपटक उनलाई नेपाल ल्याउन चाहेको तर सफलता नमिलेको स्रोतले बतायो। गत वर्ष पनि ल्हारक्यालले ग्यात्सेनलाई पन्चेन लामाको रूपमा लुम्बिनीको भ्रमण गराउन खोजेको तर सफलता नमिलेको स्रोतको दाबी छ।

प्रकाशित: ६ पुस २०८१ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App