राजनीति

प्रधानमन्त्रीको प्रतिबद्धता: त्रिविको जग्गा त्रिविकै नाममा आउँछ, हिनामिना गर्ने कारबाही पर्छन्

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने बताएका छन् । बुधवार सामाजिक सञ्जालमार्फत ललिता निवासको जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्रिविको जग्गा पनि त्रिविकै नाममा ल्याइने बताएका हुन् । 

‘एउटा संयोग – २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषद्बाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौँ,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ ।’ 

त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा समिति बनेको प्रधानमन्त्री ओलीले लेखेका छन् । ‘आयोगको अध्ययन प्रतिवेदन हिजो(मङ्गलवार) प्राप्त भएको छ। शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ,’ प्रधानमन्त्री ओलीले अगाडि लेखेका छन् ।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्,’ प्रधानमन्त्री ओलीले त्यसपछि लेखेका छन्, ‘आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ।’ 

आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिने प्रधानमन्त्री ओलीले भनेका छन् । ‘हात हालेपछि यसलाई टुङ्गोमा पुर्‍याएरै छाडिने छ,’ प्रधानमन्त्री ओलीको प्रतिबद्धता छ । 

प्रकाशित: ३ पुस २०८१ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App