राजनीति

संविधानको रक्षा र जनताको सुरक्षा सरकारको प्रमुख दायित्व: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण र संविधानको रक्षा सरकारको प्रमुख दायित्व रहेको बताएका छन्।

काठमाडौंमा बिहीबार आयोजित शान्ति, सुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधानको असफलताको कुनै ठाउँ नरहेको स्पष्ट पारे।

मन्त्री लेखकले संविधान विरोधी गतिविधिहरूको कडा विरोध आवश्यक रहेको बताए। "नेपालमा ६८ वर्षभित्र सातवटा संविधान बने, जुन राजनीतिक अस्थिरताको प्रतिविम्ब हो," उनले भने। संविधानलाई असफल बनाउने प्रयास अस्वीकार्य हुने भन्दै उनले देशको समृद्धि र विकासका लागि संविधानको सफल कार्यान्वयन अनिवार्य रहेको उल्लेख गरे।

गृहमन्त्रीले नेपालको संविधान तुलनात्मक रूपमा उत्कृष्ट रहेको दाबी गर्दै यसले लोकतान्त्रिक मूल्य मान्यतासहित संघीयताको आधार निर्माण गरेको बताए। "यो संविधानले गणतन्त्रको मार्ग प्रशस्त गरेको छ। यसलाई असफल बनाउन कसैलाई छुट छैन," उनले थपे।

गोष्ठीमा गृहमन्त्री लेखकले पछिल्लो समय साइबर अपराधको घटना बढिरहेकोप्रति चिन्ता व्यक्त गरे। "व्यक्तिगत चरित्र हत्या, सामाजिक शान्ति खल्बल्याउने, र धार्मिक तथा क्षेत्रीय द्वन्द्व उक्साउने कार्यहरू साइबर क्राइमका माध्यमबाट भइरहेको छ," उनले भने। यस प्रकारका अपराधलाई निर्मम रूपमा रोक्न सरकारले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए।

गृहमन्त्री लेखकले कानूनी शासनको प्रत्याभूति दिलाउन सरकार दृढ रहेको बताए। "संविधानको रक्षा गर्दै नागरिकलाई शान्ति र सुरक्षा प्रदान गर्ने सरकारको मुख्य दायित्व हो," उनले जोड दिए।

संविधानलाई असफल बनाउने कुनै गतिविधि असह्य हुने र शान्तिपूर्ण समाज निर्माणका लागि कडा कदम चालिने गृहमन्त्रीले प्रष्ट पारे। —न्युज एजेन्सी नेपाल

प्रकाशित: २७ मंसिर २०८१ १६:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App