विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पोखरा एभेन्जर्ससँगको रोमाञ्चक सुपर ओभरमा हारपछि आफ्नो बलिङ गर्ने निर्णय सही नभएको स्वीकार गरेका छन्।
खेलको नतिजा आफ्नो पक्षमा नआउँदा सन्दीपले खेलमा कहिलेकाहीं उत्कृष्ट प्रयास गर्दागर्दै पनि परिणाम अनुकूल नहुने बताए।
उनले सुपर ओभरमा बलिङ गर्न आत्मविश्वास रहेको भए पनि नतिजाले सो सही निर्णय नभएको देखाएको उनको भनाइ थियो। डेथ ओभरका लागि बसिरले जिम्मेवारी लिए पनि दुई ओभरमा उत्कृष्ट प्रदर्शन गरेका उनले अन्तिम क्षणमा लय गुमाएका थिए।
सन्दीपले खेलपछि आफ्नो टोलीका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको भन्दै समर्थन जनाए। दोस्रो इनिङमा लक्ष्य पछ्याउन कठिनाइ हुने भएकाले पहिले ब्याटिङ रोजेको उनले बताए। "पावर प्लेमा राम्रो गर्न सकेको भए र विकेट लिएको भए खेलको नतिजा फरक हुनसक्थ्यो," सन्दीपले भने।
हारपछि पनि सन्दीपले आफ्नो टोलीको प्रयासको प्रशंसा गर्दै आगामी खेलमा सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित: २७ मंसिर २०८१ १६:०० बिहीबार