राजनीति

म प्रधानमन्त्री बनेपछि देश हिँड्न थाल्यो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा स्थिरता, स्थायित्व र सुशासन दिन वर्तमान सरकार बनेको बताएका छन्।  

बुधवार तेह्रथुममा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।  उनले देशलाई विकासको गतिमा अघि बढाउने संकल्पसहित वर्तमान सरकार बनेको बताए।

उनले आफूले अघिल्लो कार्यकालमा देशभर ३९६ वटा १५ शैय्याको अस्पताल निर्माण गर्न शुरु गरेको र अहिले सय भन्दा बढी सञ्चालन भइरहेको बताए। उनले आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि देशमा विकास निर्माणका कामको गति रोकिएको उल्लेख गरे।

उनले भने, ‘१५ बेडको अस्पताल मैले एकै पटक देशभर ३९६ वटाको शिलान्यास गरेको थिएँ । त्यसका लागि बजेट छुट्याएको थियो । जसमा अहिले लगभग सय वटा अस्पतालहरु चलिसके होलान् । मैले नै अहिले आएर धेरै वटा उद्घाटन पनि गरेँ । म हिँडे देश हिँड्न छोड्यो, म प्रधानमन्त्रीबाट हटेँ देश हिँड्न छोड्यो । म आएको छु, फेरि देश हिँड्छ । यस पल्ट देशको अफ्ठ्यारो स्थितिलाई हेरेर देशका ठूला राजनीतिक दलहरु, इतिहास बोकेका, जिम्मेवार राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा एमाले मिलेर यो सरकार बनेको छ । यसले देशमा स्थिरता, स्थायित्व ल्याउने, देशमा सुशासन दिने, देशलाई विकासको गतिमा अघि बढाउने, त्यो संकल्प गरेको छ । मैले अघि बढाएका विकासका कामहरु आफू उभिएकै ठाउँबाट हरेकले देख्नसक्छ ।’

प्रकाशित: २६ मंसिर २०८१ १८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App