स्थानीय तह उपनिर्वाचनको मत गणनाको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। जारी गणनामा अहिलेसम्म ३७ स्थानको मतपरिणाम सार्वजनिक भएको छ।
रूकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ। सर्वदलीय बैठक बसेर बिहान पौने १० बजेबाट त्यहाँ मतगणना सुरू भएको हो।
त्यस्तै उदयपुरको बेल्का नगरपालिका ९ मा भएको वडाअध्यक्षको उपनिर्वाचनको मत गणनामा धेरै मत बदर देखिएपछि गएरातिदेखि गणना स्थगित भएको छ।
मत गणना सुरु गर्नका लागि सर्वदलीय बैठक जारी छ। कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको मत गणना जारी छ।त्यहाँ कांग्रेसले अग्रता बनाएको छ।
त्यस्तै दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षको नतिजा पनि आउन बाँकी छ।
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै १६ वटा वडा जितेको छ।
माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्षसहित ६ वडा जितेको छ। परिणाम अनुसार माओवादी दोस्रो स्थानमा छ भने एमालेले एक पालिका अध्यक्ष, एक उपाध्यक्षसहित ५ वडा जितेर तेस्रो स्थानमा छ।
जनता समाजवादी पार्टी, नेपालले २ वडाध्यक्ष जितेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले एक एक स्थानमा विजयी भएको आयोगको वेबसाइटमा उल्लेख छ।
प्रकाशित: १७ मंसिर २०८१ ११:५७ सोमबार