प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई कार्य सक्षमता देखाउन आग्रह गरेका छन् । कार्यसक्षमता नदेखाए बदल्ने चेतावनीसमेत प्रधानमन्त्री ओलीले दिएका छन् ।
बुधबार सिंहदरबारमा मन्त्रालयहरूको त्रैमासिक समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।
'प्रक्रियावादमा मात्रै नअल्झिऔँ । हामीले जनताका अपेक्षाबमोजिम ठोस र परिणाममूलक काम गर्न सक्नुपर्छ । देशमा रोजगारी र आम्दानी बढाउने नीति लिनुपर्छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले आफूलाई ठोस योजना चाहिएको बताएका थिए । 'हामी सरकारमा भएको उपादेयता हुनुपर्यो । हिम्मतिलो तरिकाले अगाडि बढौँ,' प्रधानमन्त्री ओलीले भने, 'हामी सरकारमा रहेको भन्ने देखिनुपर्यो ।'
प्रधानमन्त्रीले अल्याङटल्याङ नबस्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
प्रकाशित: १२ मंसिर २०८१ २०:१७ बुधबार