राजनीति

कांग्रेस–एमाले बिआरआई मतभेद: बालुवाटारमा शीर्ष नेताको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी स्वरुप अहिले बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा छन् । 

यस्तै एमालेबाट प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार एवं उपमहासचिव विष्णु रिमाललगायत सहभागी छन् । 

बैठकमा दुई दलबिच चीनको रणनीतिक बेल्ट इन रोड इनिसियटिभ(बिआरई) परियोजनाबारे मुख्य छलफल भइरहेको स्रोतले बतायो । प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको भ्रमणका गएका बेला बिआरआईको कार्यान्वयन सम्झौता गर्ने तयारी छ । त्यसैको तयारीका लागि दुई दलबिच छलफल भइरहेको छ । 

बिआरआई कार्यान्वयनमा दुवै पार्टी सहमत भए पनि त्यसको मोडालिटीमा भने फरक मत छ । कांग्रेसले तत्काल देश धेरै ऋणमा परिसकेको भन्दै अनुदानमा मात्र बिआरआई लिनुपर्ने अडानमा छ । 

एमाले भने सहुलियतपूर्ण ब्याजदरमा भए पनि बिआरआई लिनुपर्ने भनिरहेको छ । जसमा दुई दल सहमत हुन सकेका छैनन् ।

यही सहमति हुन नसक्दा मंगलबार साँझका लागि तय भएको मन्त्रिपरिषद्को बैठक पनि स्थगित गरिएको छ । यो बैठकबाट प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण स्वीकृत गर्ने तयारी गरेका छन् । 

प्रकाशित: ४ मंसिर २०८१ १८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App