राजनीति

महाबुमा अध्यक्ष र दुल्लुमा वडाध्यक्ष पदका लागि निर्वाचन हुँदै

स्थानीय तह उपनिर्वाचन

दैलेखको महाबु गाउँपालिकाको अध्यक्षसहित दुल्लु नगरपालिका–१३ का वडाध्यक्षको निर्वाचन हुँदै छ।  

नेपाली कांग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरुङ्गको ७६ वर्षको उमेरमा २०७९ माघ २७ गते निधन भएको थियो। त्यसैगरी एमालेबाट निर्वाचित दुल्लु नगरपालिका–१३ का वडाध्यक्ष बिर्खबहादुर शाहीको ६५ वर्षको उमेरमा २०८० माघ २२ गते निधन भएको थियो। तसर्थ सोही पदका लागि  मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो।

सो निर्वाचनका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। महाबु गाउँपालिकाको मुकाम गैडाबाजमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो।

जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहित कार्यालय स्थापना गरिएको जनाइएको छ। मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेसहित कार्यालय स्थापना गरिएको छ। २ गते उम्मेदवारले नाम दर्ता गर्ने कार्ययोजना रहेको छ। कार्यालय स्थापनासँगै सुरक्षा निकायका प्रमुखसँगै मुख्य निर्वाचन अधिकृत पाण्डेको टिम महाबुमा रहेका मतदान स्थलको अनुगमन गरिरहेका छन्।

त्यस्तै कपिलवस्तु संवाददाताका अनुसार कपिलवस्तुको शुद्धोदन गाउँपालिका–१ मा वडाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। कपिलवस्तु जिल्ला अदालतका मुख्य न्ययाधीश तथा मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीले उद्घाटन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थपना गरेका हुन्। सो अवसरमा उनले मंसिर १६ मा हुने उप निर्वाचनलाई सबै मिलेर सफल बनाउन आग्रह गरे।

निर्वाचन आयोगले जारी गरेका निर्वाचनको कार्यक्रम र आचारसंहीताअनुसार अघि बढ्न उनले अपील गरे। उद्घाटनपछि उनले कांग्रेस, एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टीलगायत सरोकारवालासँग निर्वाचनका विषयमा अन्तरक्रियासमेत गरेका थिए। सो अवसरमा निर्वाचन कार्यालयका प्रमुख अम्मर ओलीले निर्वाचन कार्यक्रमको तालिका, उम्मेदवारको मनोनयन र योग्यताबारे जानकारी गराएका थिए। कांग्रेसबाट दोस्रो कार्यकालका लागि वडाध्यक्षमा जिेतेका तिलकराम यादवको निधन भएपछि सो वडामा उप निर्वाचन हुन लागेको हो।

त्यस्तै मोरङ संवाददाता चुमन बस्नेतका अनुसार मोरङको ग्रामथान गाउँपालिकामा हुन लागेको उपनिर्वाचनका लागि शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापन गरिएको छ। उपनिर्वाचनका लागि गाउँपालिकामै रहने गरी स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृतसमेत रहेको जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईले गरेका थिए। मुख्य निर्वाचन अधिकृत भट्टराईले कार्यालय स्थापनापछि सर्वदलीय बैठक राखेको थिए। बैठकमा उनले निर्वाचन स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न दलहरूको महŒवपूर्ण भूमिका हुने बताए। सो क्रममा राजनीतिक दलले भयरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए।

गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदारको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो। नेपाली कांग्रेसबाट विजयी भएका गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुने लागेको हो।

निर्वाचनका अन्य कार्यक्रम मंसिर २ गतेदेखि सुरु हुनेछ। पहिलो दिनको कार्यक्रम मनोनयन दर्ता बिहान १० बजेदेखि सुरु हुनेछ। गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसले ग्रामथानको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाएको छ। बलराम पार्टीका पूर्व महासमिति सदस्य एवं कांग्रेस मोरङको सल्लाहकार समिति सदस्य हुन्।

एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ। उनी पार्टीको गाउँ कमिटी उपाध्यक्ष हुन्। २०६८ अघिसम्म विदेशमा थिए। विदेशबाट फर्किएर पार्टीमा सक्रिय भएका उनले अहिले अध्यक्षको टिकट पाएका हुन्। त्यहाँ पूर्वअध्यक्ष शिवनारायण माझीलाई उम्मेदवार बनाउन एमालेका केही नेताहरू लागे पनि केही चलेन। भदौ २९ गते जुवा खालबाट पक्राउ परेर विवादमा मुछिएपछि टिकटमा ‘ह्याट्रिक’ गर्ने शिवनारायणको सपना विफल भयो।

उनी २०७४ सालमा एमालेबाट टिकट लिएर गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए। २०७९ सालमा पनि पुनः अध्यक्षको उम्मेदवार बने। तर, कांग्रेसका जयप्रकाश गच्छदारसँग पराजित भए।

राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले दिनेशकुमार थान्दारलाई उम्मेदवार बनाएको छ। माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाएको छ। उनी पूर्ववडाध्यक्ष हुन्। २०७४ सालमा ग्रामथान गाउँपालिका–१ को वडाध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेर निर्वाचित भए। २०७९ सालको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बन्दा ५ सय ५४ मतका साथ तेस्रो भएका थिए।

कांग्रेस छाडेर माओवादी रोजेपछि अहिले गाउँपालिका अध्यक्षकै उम्मेदवार बन्ने मौका नमोनारायणले पाए। अर्कै पार्टीबाट आएकालाई टिकट दिएको भनेर माओवादीभित्र असन्तुष्टि बढेको छ।

यो गाउँपालिकामा ७ वटा वडा छन्। गत निर्वाचनमा एमालेले ५, कांग्रेस र माओवादीले १ र १ वटा वडामा वडाध्यक्ष जितेका छन्। ग्रामथानमा उपनिर्वाचनका लागि २६ हजार ४४ मतदाता छन्। सबै दलहरूले निरन्तर घरदैलो र मतदाता भेटघाट गर्दै भोट माग्न थालेका छन्।

त्यस्तै उदयपुर संवाददाता महेश्वर चामलिङ राईका अनुसार आसन्न उपनिर्वाचनका लागि उदयपुरका दुवै रिक्त वडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। शुक्रबार बिहान त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

जिल्ला निर्वाचन अधिकारी दीपक दाहालका अनुसार त्रियुगा–१२ वडा कार्यालय भवनमै मुख्य निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, जिल्ला न्यायाधीश दिपककुमार खरेल, प्रहरी प्रमुख एसपी हरिहरनाथ योगी र निर्वाचन अधिकारी दाहालसहितको टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो।

प्रकाशित: १ मंसिर २०८१ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App