राजनीति

सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्री पाण्डेको उजुरी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईँविरुद्ध पार्टीमा उजुरी दिएका छन् । कांग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले सांसद बजगाईँले आफू विरुद्ध शृङ्खलाबद्ध कु प्रचार गरेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका हुन् । 

अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रवार उजुरी बुझाइएको पाण्डेको सचिवालयले जनाएको छ । उजुरीमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा–१ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यवसायी  बजगाईँले आफू मन्त्री नियुक्त भएदेखि नै शृङ्खलाबद्ध रूपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरूमा कु प्रचार गर्दै आएको मन्त्री पाण्डेले लेखेका छन् । 

‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ,’ उजुरीमा भनिएको छ । 

सांसद बजगाईँले मन्त्री पाण्डेविरुद्ध एक क्यासिनोलाई इजाजत दिँदा करोड–करोड घुस खाएको भन्दै सामाजिक सञ्जालमार्फत आरोप लगाएका थिए । यद्यपि त्यो पोस्ट उनले अहिले हटाइसकेका छन् ।  

त्यो आरोपपछि मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यस विरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएका थिए ।  

पार्टीमा दिएको उजुरीमा मन्त्री पाण्डेले आरोपलाई चुनौती दिँदै सत्य तथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैर कानुनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाही गरिदिन माग गरेका छन् ।

पढ्नुहोस् उजुरीमा के छ ?  

प्रकाशित: ३० कार्तिक २०८१ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App