राजनीति

राष्ट्रपति पौडेलको आह्वान: जलवायु जोखिमबाट बच्न पर्वत र समुद्री देशको साझा योजना जरुरी

<br>

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आव्हान गरेका छन्।

अजरबैजानको बाकु सहरमा यही सोमबारबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) अन्र्तगत नेपालले बुधबार आयोजना गरेको ‘माउण्टेन इन पेरिल, एडेसिङ लस एण्ड डयामेज इन द हिमालय’ (‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’)  शीर्षकको उच्चस्तरीय राउण्ड टेबल बैठकलाई सम्बोधन गर्दै उनले सो आव्हान गरेका हुन।

“पहाडी देशमा परेको जलवायु जोखिमको प्रभाव सामुद्रिक देशमा पर्न सक्ने र सामुद्रिक किनार माथि उठ्न सक्ने भएकोले आउदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न म हार्दिक आव्हान गर्दछु”,राष्ट्रपति पौडेलले भने।

उनले मुख्य गरी कार्वन उत्सर्जन गर्ने विकसित राष्ट्र र उच्च दरमा आर्थिक वृद्धि गर्ने राष्ट्रले उच्च जलवायु जोखिममा परेका राष्ट्रको लागि बढी सहयोग गर्नुपर्ने बताए। “बढी भन्दा बढी जलवायु वित्तको व्यस्थापन गर्न २९ औं जलवायु सम्मेलन सफल हुने मेरो विश्वास छ”, उनले भने।

जलवायु परिवर्तन हामी सबैको साझा चुनौती भएको र यसको सामाना गर्न हामी सबैको साझा बुझाई र साझा प्रयास बनाउनु पर्ने भएकोले यस कार्यक्रमको आयोजना गरिएको उनको भनाइ थियो।

“जलवायु परिवर्तनका उस्तै प्रभावित राष्ट्रलाई एकै ठाउमा राखेर छलफल गर्दा समस्याको वारेमा बुझ्न र समाधन गर्न पनि सहज हुने हाम्रो विश्वास हो”,राष्ट्रपति पौडेलले भने।

सबैलाई आ–आफ्नो समस्या ठुलो लाग्नु स्वभाविकै हो, तर पछिल्लो दिनमा नेपालले भोगेको जलवायु समस्याको चुनौति निकै हृदयविदारक रहेको राष्ट्रपति पौडेलले बताए।  

“तीन महिना अगाडि विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको हिमताल फुट्दा सम्पूर्ण थामे गाउँलाई बगाएर लग्यो, जबकी त्यस क्षेत्रमा मानवीय गतिविधि शुन्य नै थियो”,उनले भने। त्यस्तै,विगत ३ महिनामा जलवायुजन्य प्रकोपमा परेर नेपालमा मात्र ५०० भन्दा बढी मानिसले ज्यान गुमाउन पुगेको र खर्व भन्दा बढीको हानी नोक्सानी भएको जानकारी उनले दिए।

यस प्रकारको हानीनोक्सानी भर्खरै स्पेनमा भएको बाढी र डुवान तथा गत जुलाईमा क्यारिवियन क्षेत्रमा आएको आँधीबेहरी हेर्दा पनि हुने उनको धारणा थियो।

“भोलिका दिनमा यो मानवीय संकट कसलाई कतिवेला पर्छ, कसैलाई थाहा छैन, तर आज समस्या परेको देशलाई सबै मिलेर सहयोग गर्नु नै मानवीय धर्म  हो”, राष्ट्रपति पौडेलले भने।

साथै, राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकोले हानिनोक्सानीलाई जलवायु वित्त व्यवस्थापनका लागि नया समष्टिगत संख्यामातक लक्ष्यमा हानीनोक्सानी समेत  समेट्न विशेष आव्हान गरे।

अन्त्यमा उनले प्रकृतिको संरक्षणका लागि विश्वलाई अपील गर्दै भने,  

ॐ द्यौः शान्तिरन्तरिक्षं शान्तिः

पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः ।

वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रह्म शान्तिः

सर्वं शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि ।।

ॐ शान्तिः शान्तिः शान्तिः ।।

कोप २९ सम्मेलनमा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन बुधकार राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गरेको हो। सो अवसरमा वन तथा वातारण मन्त्री ऐनबहादुर शाहीले स्वागत मन्तव्य राखेका थिए।

कार्यक्रममा किर्दीस्तानका राष्ट्रपतिलगायत विभिन्न देशका मन्त्री तथा प्रतिनिधिले जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सबै मिलेर काम गर्नुपर्ने बताएका थिए।  

अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) अन्र्तगत मङगलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गरेका थिए।

अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुगेका हुन।उनलाई यहास्थित  हैदर अलीएभ अन्तराष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फरिद अहमदोले स्वागत गरेका थिए।यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ रहेको छ ।

प्रकाशित: २८ कार्तिक २०८१ १७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App