राजनीति

रविको हिरासत म्याद थप्न कास्की अदालतमा सुनुवाइ सुरु

सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको अनुसन्धानका लागि म्याद थपबारेको कास्की प्रहरीको निवेदनमाथि सुनुवाइ सुरु भएको छ। न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा सुनुवाइ जारी छ। हिरासतमा रहेका उनलाई मङ्गलवार प्रहरीले अदालतमा उपस्थित गराएको थियो।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ। उनलाई यही कात्तिक २ गते काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो। 

प्रहरीले पछिल्लो पटक कात्तिक ८ गते अदालतमा पेस गरेर प्रहरीले एक साता हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति पाएको थियो । उक्त समय कात्तिक १४ गते सकिएको थियो । लगत्तै तिहार बिदा सुरु भएकाले उनी त्यसयता पनि हिरासतमै थिए । मङ्गलवार अदालत खुलेसँगै म्याद थपका लागि प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ  ।

प्रकाशित: २० कार्तिक २०८१ १२:२३ मंगलबार

#Rabi Lamichhane