राजनीति

जुम्लामा निर्वाचित वडाध्यक्षसहित ५ सय ३८ जना माओवादीमा प्रवेश

जुम्लाको कनकासुन्दरी गाउँपालिका ८ का निर्वाचित वडा अध्यक्ष धनबहादुर कामी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। स्वतन्त्रबाट उठेर वडाअध्यक्ष जितेका कामी नेतृत्वको टोलीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कनकासुन्दरी ६ गोरुचौरमा एक कार्यक्रम गरी पार्टीमा स्वागत गरेका हुन्।

कामीसहित वडा सदस्यहरु चनाखी कुलाला र गोल दमाई लगायतका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जिल्ला ईन्चार्ज नरेश भण्डारीले बताए।पार्टी प्रवेश गराउँदै पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वतन्त्र उम्मेद्वारका हैसियतले निर्वाचन जित्ने कुरा सामान्य मात्र नभएको बताउँदै माओवादी पार्टीको नीति र योजनाबाट मात्रै स्थानीय तहका जनप्रतिनिधिले जनचाहना अनुरुप काम गर्नसक्ने बताए।

नवप्रवेशी वडाध्यक्ष धनबहादुर कामीले स्थानीय तहको निर्वाचनमा आफूहरुले कुनै पार्टीमा नलागी चुनाव लडेको भए पनि मुलुकको आवश्यकतालाई ध्यान दिएर माओवादी केन्द्रमा प्रवेश गरेको बताउँदै भने, ‘माओवादी केन्द्रको नीति, कार्यक्रम र योजनाबाट मात्रै स्थानीय तहलाई नमूना योग्य बनाउन सकिन्छ भन्ने विश्वासका साथ माओवादी केन्द्रमा आएका छौँ।’ 

नेकपा माओवादी केन्द्र जुम्लाले आयोजना गरेको कार्यक्रममा झण्डै साढे पाँच सयको सख्यांमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन्। विभिन्न पार्टीबाट ५ सय ३८ जनाले प्रवेश गरेको पार्टीको सचिव नवीन शर्माले बताए।

प्रकाशित: १० कार्तिक २०८१ ११:२१ शनिबार

#Jumla #Maoist