राजनीति

रास्वपा विरोध सभामा हिंसात्मक भाषण: यी बाहरूलाई गोली नहाने नि चिमोटी–चिमोटी मार्ने हो !

<br>

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बागमती प्रदेश सभापति डा. अच्युतम लामिछानेले हिंसात्मक भाषण दिएका छन् । पार्टीका सभापति रवि लामिछानेको पक्राउविरुद्ध रास्वपाले शुक्रवार राजधानीमा गरेको विरोध कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभापति लामिछानेले बा(ठुला दलका शीर्ष नेता)हरूलाई ‘गोली नहाने नि चिमोटी–चिमोटी मार्ने’ भन्दै अभिव्यक्ति दिएका हुन् । 

कोणसभालाई सम्बोधन गर्दै प्रदेश सभापति लामिछानेले आफू बंगलादेशको आन्दोलनको समर्थक रहेको बताउँदै शेख हसिनालाई भारतले लैजाने समय दिए पनि आफूहरू त्यो समय नदिने बताए । 

‘शेख हसिनालाई त इन्डियाले लैजाने समय दियो होला, हामी बाहरूलाई कुनै देशमा पठाउने छैनौँ,’ प्रदेश सभापति लामिछानेले भने, ‘यही देशमा...माफ गर्नुहोला,  गोली नहाने पनि.. बरु यो आन्दोलनको नेतृत्व म गर्छु, यी बाहरूलाई चिमोटी–चिमोटी मार्ने हो । चिमोटी–चिमोटी मार्ने हो छोड्ने होइन । यसरी छोडेर छोडिँदैन साथीहरू ।’

‘बाहरू’ भन्दै प्रदेश सभापति लामिछानेले उनीहरूलाई अहिल्यै नलखेटेर २०८४ सम्म कुर्न नसकिने पनि बताए । उनले भने, ‘बा हरूलाई लखेटेनौँ भने, बाहरूलाई अर्को तीन वर्ष ०८४ सम्म खान दिए.. अहिले त ३५ वर्ष खानुभो । त्यो पछिको अर्को ३५ वर्ष यही नै हो । राणा शासनजस्तो १०४ वर्ष ।’ 

‘...के त्यसै गरी ३५ वर्षसम्म राज्यलाई लुटिरहने सरकारलाई टुलुटुलु हेरिरहने कि०८१ भित्रै सडकबाट फाल्ने ? ०८१ भित्रै फाल्ने कि ०८४ सम्म पर्खिने ?,’ प्रदेश सभापति लामिछानेले भने । 

प्रकाशित: ९ कार्तिक २०८१ १६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App