राजनीति

पोखरेलीको साथ नपाएपछि आन्दोलनको स्वरूप फेर्दै रास्वपा

पोखरेलीको अपेक्षित साथ नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आन्दोलनको स्वरूप फेर्ने भएको छ। सहकारी ठगीको आरोपमा पक्राउ परेका पार्टी सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शन गर्दै आएको थियो। अदालतबाट न्याय निरूपण हुने क्रममा रहेको सो विषयलाई सडकमा भीड जम्मा गरेर प्रभावित गर्ने उद्देश्यले आयोजित विरोध प्रदर्शनमा पोखरेलीको अपेक्षित साथ मिलेन। जसका कारण रास्वपा आन्दोलनको स्वरूप फेर्न बाध्य भएको हो।

त्यति मात्र होइन, भीडबाट न्याय प्रभावित गर्न उद्यत रास्वपाको आन्दोलन चलिरहँदा सहकारी बचत पीडितहरूले बिहीबारदेखि बृहत प्रदर्शन सुरु गरेका छन्। रास्वपाले आन्दोलन गरिरहेकै स्थल वरपर सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समितिको आह्वानमा सहकारी बचत पीडितहरूले बृहत प्रदर्शन सुरु गरेका हुन्। जसका कारण पनि रास्वपा हच्किएको छ। एकातिर पोखरेलीको अपेक्षित साथ नमिल्नु र अर्कोतर्फ सहकारी बचत पीडितहरू थप आक्रोशित हुनु र आफूहरूको काउन्टरमा विरोध प्रदर्शन सुरु भएपछि रास्वपा आन्दोलनबाट ब्याक भएको श्रोत बताउँछ।

रास्वपाले बिहीबारदेखि नै आन्दोलनको स्वरूप फेर्ने जनाएको छ। यसअघि विरोध प्रदर्शनलाई शक्ति प्रदर्शनका रुपमा लगेको थियो। त्यही भएर उसले सतहत्तरै जिल्लामा हरेक जिल्लाबाट एक सय जना उपस्थित हुन सर्कुलर जारी गरेको थियो। त्यति मात्र होइन, आन्दोलनमा सहभागी हुन आएकालाई अनिवार्य सहभागी हुन र आन्दोलनबाहेकका घुमफिर तथा अन्य कुनैपनि प्रकारका तस्बिरहरू नराख्न उर्दी जारी गरेको थियो। तर सर्कुलर अनुसार उपस्थित नहुनु र पोखरेलीको पनि साथ नपाएपछि बिहीबारदेखि नै साङ्केतिक विरोध प्रदर्शनमा परिणत गर्ने तयारी रास्वपाले गरेको हो। रास्वपा उप–सभापति स्वर्णिम वाग्लेले आन्दोलनको स्वरूप बिहीबारबाटै फेरिने बताए। हाम्रो आन्दोलन आजबाटै साङ्केतिक रुपमा जान्छ,उनले भने,'त्यो कस्तो हुन्छ तपाईंहरुले थाहा पाइहाल्नु हुन्छ।’ उनका अनुसार बिहीबारको प्रदर्शनमा रास्वपाले भीड जम्मा नगरी गर्छ।

रास्वपा गण्डकी प्रदेश संयोजक राजन गौतमले आफूहरूको आन्दोलन अब काठमाडौं केन्द्रित हुने बताए। हाम्रो पोखरा केन्द्रित आन्दोलन एक हदसम्म सफल भयो,उनले भने,'अब आन्दोलनलाई भोलिदेखि काठमाडौं केन्द्रित गर्छौं।’ सत्तारुढ ठूला दललाई देखाउन पनि काठमाडौं केन्द्रित आन्दोलन गर्न लागेको उनले बताए।

रास्वपा प्रवक्ता मनिष झाले सहकारी बचत पीडितको आन्दोलनमा घुसपैठ हुने देखेकाले मुठभेड नहोस् भन्नका लागि आन्दोलनको स्वरूप फेरेको बताए। पीडितको नाममा आह्वान भएको सो आन्दोलनमा कांग्रेस, एमालेले सहभागी भई घुसपैठ गर्न सर्कुलर नै जारी गरेको भन्दै उनले भने,'त्यसको प्रमाण हामीसँग छ। यसले अर्को रूप नलियोस् भन्नेमा हामी सचेत छौँ।’

पोखरेलीको अपेक्षित साथ नमिलेको बारे भने रास्वपा नेताहरु कसैलेपनि ठोस जवाफ दिएनन्। बरु पोखरेलीको नैतिक समर्थन रहेको भन्दै प्रवक्ता झाले भने,'व्यवसायीहरू व्यवसायमा हुनुहुन्छ। पर्यटन व्यवसायीहरू त्यतै व्यस्त हुनुहुन्छ । तर उहाँहरूले हामीलाई पानी खुवाउनु भएको छ। नैतिक समर्थन छ भन्नु भएको छ।’

सहकारी बचत पीडितहरुलेचाहिं तपाईंहरुबिरुद्ध आन्दोलन गर्ने परिस्थिति कसरी बन्यो भन्ने प्रश्नमा पनि रास्वपा नेतृत्वले आलटाले जवाफ दिए। पीडितको पक्षमा हुने गरी आफूहरूले प्रतिवेदन बुझाएको, सदनमा आवाज उठाएको उनीहरूको भनाई थियो। पीडितहरू त तपाईँहरूको विपक्षमा उत्रिए नि भन्ने प्रश्नमा झाले त्यस्तो नरहेको दाबी गरे। उनले भने,'आन्दोलन आह्वान गर्नेहरू सहकारीको विषयलाई राजनीतिकरण गर्न चाहन्छन्। तर अन्य धेरै सहकारी बचत पीडितहरूले हामीलाई पानी खुवाएका छन् । आन्दोलनमा समर्थन जनाएका छन्।’

प्रकाशित: ८ कार्तिक २०८१ ११:४४ बिहीबार

#RSP-Rastriya Swatantra Party #Rabi Lamichhane