राजनीति

ओली सरकार मधेस विरोधी भएको भन्दै विद्यार्थीहरू सडकमा

आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै सडक आन्दोलन गरिरहेको छ। मधेसमा विद्यार्थीको अनुपातमा शिक्षक नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन्।

वीरगंज र गौरमा आम विद्यार्थी मोर्चाले आज प्रदर्शन गरेको छ। आम विद्यार्थी मोर्चाका इन्चार्ज उमेश कुशवाहाको नेतृत्वमा वीरगंजमा र विद्यार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो। प्रदर्शनमा विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयको सहभागिता रहेको छ।

विद्यार्थीको अनुपात तहगत र विषयगत शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक पटक माग गर्दा समेत कुनै सुनुवाइ नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थी मोर्चाका अध्यक्ष साहले बताएका छन्। मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको आरोप उनले लगाए।

‘हामीले सरकारलाई पटक पटक यसको बारेमा ध्यानाकर्षण गरायौँ। मधेसको शिक्षाको विकासका लागि सरकारले केही गर्न मान्दैन। विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था गर्नुपर्ने माग गर्दै हामीले सरकारलाई आग्रह गरे पनि कुनै सुनुवाइ नभएपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिन बाध्य भएका छौँ’ विद्यार्थी मोर्चाका अध्यक्ष साहले भने।

प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षामन्त्री विद्या भट्टराई मधेस विरोध भएको आरोप उनीहरुले लगाए। प्रधानमन्त्री, शिक्षामन्त्रीको विरोधमा नाराबाजी गर्दै उनीहरुले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था कहिले हुने भन्दै प्रश्न समेत गरेका छन्। सरकारलाई पटक पटक आग्रह गर्दा समेत विद्यार्थीको भविष्यसँग खेलबाड गरेको आरोप उनीहरूको छ।

‘प्रधानमन्त्री, शिक्षामन्त्रीले आज राष्ट्रिय शिक्षा दिवसको अवसरमा ठुल्लाठुल्ला कुरा गर्दै शुभकामना दिएका छन्। हामीलाई उहाँहरुको शुभकामना भन्दा पनि शिक्षकको व्यवस्था गरिदिए आभारी हुन्थ्यौँ’ विद्यार्थी मोर्चाका इन्चार्ज कुशवाहाले भने, ‘उहाँहरुको शुभकामनाले विद्यार्थीको भविष्य उज्ज्वल हुदैन्, विद्यार्थीको अनुपातमा हामी शिक्षकको व्यवस्था गर्छौ, कतै पनि शिक्षकको अभाव हुन दिँदैनौँ भनेर भनेको भए र सोही अनुसार शिक्षकको व्यवस्था गरेको भए हामीले आज राष्ट्रिय शिक्षा दिवसकै दिन आन्दोलन गर्नुपर्दैनथ्यो।’

विद्यार्थी मोर्चाले मधेस प्रदेशमा विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै चरणबद्ध आन्दोलनमा छ। आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ। मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हडतालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका विभिन्न कार्यक्रम गरिरहेको छ।

प्रकाशित: २ आश्विन २०८१ १५:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App