राजनीति

बुधबार कोशी प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिने प्रयोजनार्थ बुधबार १ बजे प्रदेशसभा बैठक बोलाइएको छ।

मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि भोली दिउँसो १ बजेलाई बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए।

नेकपा माओवादी केन्द्रको समर्थनमा वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। माओवादी केन्द्रले भदौ १४ गते विश्वासको मत फिर्ता लिएपछि कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्।

सत्ता गठबन्धन परिवर्तन भएसँगै साउन ११ गते कोशी सरकारबाट बाहिरिएको माओवादी केन्द्रले भदौ १४ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्। सरकारमा सहभागी दलले विश्वासको मत फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

बुधबार विश्वासको मत लिन लागेका कार्कीले सहजै विश्वासको मत पाउने देखिएको छ। ९३ सदस्यीय कोशी प्रदेश सभामा विश्वासको मतका लागि ४७ जना सांसद आवश्यक पर्दछ।

कोशीमा सत्तारुढ दलहरू नेकपा एमालेका ४० र कांग्रेसका २९ सांसद छन्। सत्ता पक्षमा ६९ जना सांसद भएकाले मुख्यमन्त्री कार्कीले सहजै विश्वासको मत पाउने देखिएको छ।

कोशी प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन्।

प्रकाशित: १ आश्विन २०८१ १९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App