राजनीति

रास्वपाको राष्ट्रिय भेलामा एक हजार पाँच सय प्रतिनिधि सहभागी हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो राष्ट्रिय भेला आगामी असोज १ र २ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा आज आयोजित पत्रकार सम्मेलनमार्फत भेलाका लागि १५ दिनदेखि तयारी गरिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने दुईदिने भेलामा देशभरबाट एक हजार पाँच सय प्रतिनिधिले सहभागिता जनाउने उनले बताए।

“तयारी सुरु गरेको १५ दिन भयो। केन्द्रीय समितिदेखि पालिकाका प्रतिनिधिसम्म भेलामा अटाउने कोसिस गरेका छौं”, कार्यवाहक महामन्त्री बुर्लाकोटीले भने।

उनका अनुसार देशभर चार सय पालिका र दुई हजार वडामा रास्वपाको पार्टी संरचना छ। वडाबाट प्रतिनिधि ल्याउने सम्भावना नभएकाले पालिकाबाट प्रतिनिधि छनोटगरी ल्याउने व्यवस्था गरेको महामन्त्री बुर्लाकाटीले जानकारी दिए।

“निर्वाचन क्षेत्र समिति, जिल्लाको संयोजक उपसंयोजक, प्रदेशको समिति, विभाग, आयोग र अन्य संयन्त्रसँगै केन्द्रीय समिति, विभाग र संरचना सहभागी हुने व्यवस्था गरेका छौं”, उनले भने, “चाडपर्वको नजिकै भएका कारण एक हजार पाँच सय जना उपस्थित हुनेगरी तयारी गरेका छौं।”

यस भेलाका लागि पार्टीले १५ वटा उपसमिति गठन गरेर तयारी गरिरहेको छ। भेलामा राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ। पार्टी सभापति रवि लामिछानेबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जनाए।

प्रकाशित: २७ भाद्र २०८१ १९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App