राजनीति

सकियो नौ दिन लामो भक्तपुरको गाईजात्रा

आठ रात नौ दिन लामो भक्तपुरको गाईजात्रा पर्व सोमबार रातिदेखि सकिएको छ। भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट साँझ घिन्तागिसी नाच (लठी जुधाएर खेलिने नाच) को प्रदर्शन सुरु भएसँगै जात्रा अन्त्य भएको थियो। प्रत्येक वर्ष जनैपूर्णिमाका दिनदेखि सुरु हुने जात्रा कृष्णजन्माष्टमीसम्म चल्ने गर्छ।

जात्राको अवधिभर भक्तपुर नाचगानमय बन्यो। नगरको मुख्य बजारहरू सबैतिर घिन्तागिसी नाचका साथै अन्य नाचगानहरू चलिरहे। जात्राका क्रममा दैनिक साँझसाँझ घिन्तागिसी नाचहरू निस्किरहे। टोलटोलबाट निस्कने यो नाच नगर परिक्रमा गरेपछि सकिन्छ। साथै साँझसाँझ टोलटोलका ठाा विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) प्रदर्शन गरिए । नाच तथा प्रदर्शन हेर्न सबैतिर भिड रहेको हुन्छ।

अन्य ठाउँमा गाईजात्रा एकदिन मात्रै रहने गरे पनि भक्तपुरको गाईजात्रा भने आठ दिन नौ रात चल्ने परम्परा छ। गाईजात्राको मुख्य दिन भने जनैपूर्णिमाको भोलिपल्ट हुने गर्छ। त्यो बेला यहाँको जात्रा हेर्न उपत्यका तथा उपत्यकाबाहिरबाट पनि हजारौं जात्राप्रेमीहरू आउने गर्छन्।

नगरभित्रका पुराना कला संस्कृति परम्परालाई जोगाइराख्न भन्दै भक्तपुर नगरपालिकाले गाईजात्राको अवसरमा प्रदर्शन गरिने नाच, नाटक, प्रहसनलाई नगद पुरस्कार व्यवस्था गर्दै आएको छ। 

यही कारणले पनि गाईजात्राको आठै दिन यहाँ नागगानमय हुन्छ। नगरपालिकाले प्रत्येक वर्ष जात्रामा प्रदर्शन हुने साँस्कृतिक प्रदर्शनको मूल्यांकन गरी पहिलो, दोस्रो र तेस्रो हुने विधाहरूलाई नगद पुरस्कार वितरण गर्दै आएको छ । यो क्रमलाई नगरपालिकाले यो वर्ष पनि निरन्तरता दिएको थियो। 

त्यही कारण टोलटोलबाट निस्कने ख्याल, प्रहसन, नाटक आदिको मूल्यांकन गर्न टोलटोलका चोकहरूमा टोली बसेको थियो। टोलटोलमा बसेका विशेषज्ञ टोलीहरूले त्यसको मूल्यांकन गरिन्छ र उत्कृष्टहरूलाई प्रत्येक वर्ष विश्व पर्यटन दिवसको अवसरमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन्छ।

सांस्कृतिक पर्व भए पनि गाईजात्राका क्रममा हुने घिन्तागिसी, ख्याल, नाटक, प्रहसन आदिमा विशेष गरेर राजनीतिमा हुँदै आएका विकृतिलाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिन्छ। यो वर्ष पनि विशेष गरेर ठुला दलका शीर्ष नेताहरूबारे व्यंग्य गरेको देखियो। 

मुखमा ती नेताका मुकुन्डो राखी नाच नाचिन्छ। साथै उनीहरूले गरेका अनेक विकृतिहरू देखाइन्छ । यही कारण सांस्कृतिक पर्वको नाममा विकृति ल्याएको एकथरी मानिसको भनाइ छ। संस्कृतिको नाममा ठुला दलका नेताहरूलाई नंग्याउने गरेको भन्दै ती दल समर्थित मानिसहरू आलोचना गर्ने गर्छन् ।

संस्कृतिविद् वीरेन्द्रप्रसाद कायस्थ परापूर्वकालदेखि चल्दै आएको गाईजात्रा सुरुमा सांस्कृतिक रूपमा चल्दै आएपछि व्यंग्य प्रदर्शन गर्ने थलोका रूपमा विकास हुँदै आएको सम्झन्छन्।  

प्रकाशित: ११ भाद्र २०८१ ०७:३९ मंगलबार

#Bhaktapur #Gaijatra #Krishna-Janmashtami-End