राजनीति

जसपा नेपालको केन्द्रीय समितिको बैठक तेस्रो दिन पनि जारी

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यलाई अभिमुखीकरण तथा प्रशिक्षण दिने क्रम जारी छ।  

बैठकमा ‘नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका र जनता समाजवादी पार्टी, नेपालको आदर्श, वैचारिक एवं सैद्धान्तिक अवधारणा’ विषयमा नेताहरुलाई प्रशिक्षण दिइँदै छ।

प्रशिक्षण सम्पन्न भएसँगै आइतबार बैठकमा प्रस्तुत गरिएको पार्टीको राजनीतिक एवं सङ्गठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ, साथै बैठकले केन्द्रीय समिति सदस्यहरुलाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाउने गरी कार्यविभाजन गर्ने तयारी छ।

उक्त बैठक बुधबारसम्म चल्ने पार्टीले जनाएको छ।

यसअघि सोमबारको बैठकमा विजयकान्त कर्णले ‘वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध’, प्राध्यापक प्रणव खरेलले ‘सामाजिक लोकतन्त्र र समाजवादको आधारभूत अवधारणा’, अधिवक्ता शङ्कर लिम्बूले ‘संविधानमा समुदायको प्रस्ताव’ र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा उमाशङ्कर प्रसादले ‘समाजवादी लोकतन्त्रको आर्थिक पक्ष विषय’ शीर्षकमा केन्द्रीय सदस्यलाई प्रशिक्षण दिइएको छ।

देशैभरीबाट सहभागी दुई सय १५ जना केन्द्रीय सदस्यको राय सुझावसहित सो प्रतिवेदनलाई पारित गर्ने कार्यसूचि रहेको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले पार्टीको केन्द्रीय समिति बैठकमा ६१ बुँदे राजनीतिक प्रस्ताव पेश गरिसकेका छन्। सो राजनीतिक प्रस्तावमा प्रस्तावमा संघीयता कार्यान्वयन, संविधान संशोधन, सामाजिक न्यायको हक, निर्वाचन क्षेत्र निर्धारणलगायत विषयहरू उल्लेख छन्।

यसका साथै जसपा नेपालले पाँच लाख नयाँ संगठित क्रियाशील सदस्य थप्न चारमहिने संगठन निर्माण अभियान चलाउने प्रस्ताव समेत उल्लेख छ।

प्रकाशित: २९ श्रावण २०८१ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App