राजनीति

भोली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक

नेपाली कांग्रेसले मंगलबार बिहान दुई वटा बैठक लगातार डाँकेको छ। कांग्रेसले मंगलबार बिहान साढे सात बजे संसदीय दल कार्यसमिति र आठ बजे कांग्रेस संसदीय दलको बैठक बोलाएको हो।

ती बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा हुने कांग्रेस संसदीय दल कार्यालयले जनाएको छ। 

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समितिलाई ‘बटमलाइन’ बनाउने निर्णय आज (सोमबार)नै गरिसकेको छ। सोमबार बिहानको बैठकले उक्त निर्णय गरेको हो। संसदीय छानबिन समिति बनाउने विषयमा शीर्ष तहको बैठकमा सबै एकमत रहेको कांग्रेस महामन्त्री गगनकुमार थापाले सोमबारको बैठकपछि जानकारी दिइसकेका छन्।

पछिल्लो प्रतिनिधिसभा बैठकमा पनि कांग्रेसले छानबिन समिति बनाउन सरकारलाई दिएको म्याद सकिएको र अबको बैठकमा सरकारले छानबिन समितिको खाका लिएर आउनुपर्ने माग राखेको थियो। 

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानबिन समिति निर्माणका लागि सरकारलाई दिएको अल्टिमेटम सकिएको जानकारी गराएका थिए। उनले समिति निर्माण नभएसम्म संसद् अवरुद्ध हुनसक्ने चेतावनी समेत दिएका थिए।  

यस विषयमा छलफल गर्न कांग्रेसले सभामुख देवराज घिमिरेले संसदीय दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुँदै छन्। 

प्रकाशित: २६ चैत्र २०८० १२:३३ सोमबार

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति गगनकुमार थापा विश्वप्रकाश शर्माले देवराज घिमिरे शेरबहादुर देउवा रमेश लेखक