राजनीति

प्रहरीले संसद भवन छिर्न नदिएपछि पूर्वसभामुख ढुंगाना भन्छन्: ‘पक्राउ परेजस्तो अनुभुति भयो’

कार्यक्रमको स्थानका बारेमा अलमलमा परेर नयाँ बानेश्वरस्थित संसद भवनमा पुगेका पूर्वसभामुख दमननाथ ढुंगानालाई प्रहरीले संसद भवन प्रवेश गर्न नदिएपछि आफू त्रसित भएको बताएका छन्।

मंगलवार सभासद मञ्च नेपालले आयोजना गरेको ‘संविधान, सुशासन र समृद्धि’ विषयक अन्तरसंवाद कार्यक्रममा पूर्वसभामुख ढुंगानालाई अतिथिको रुपमा बोलाएको थियो। 

कार्यक्रम हुने स्थान सिंहदरबारस्थित कृषि समितिको सभाकक्ष थियो। तर ढुंगानालाई कार्यक्रम संसद भवनमा हुने सोचसहित नयाँ बानेश्वर पुगे। नयाँ बानेश्वर पुगेपछि प्रहरीले उनलाई भित्र छिर्न नदिएर यो र त्यो गेटमा जानुस् भनेर फनफनी घुमाएको बताए। उनले प्रहरीले आफूलाई घेरेको र निस्किन पाउँछु कि पाउँदिन भन्ने आफूलाई महशुस भएको बताए।

उनले अघिल्लो पटक संसद विघटन हुँदा एउटा सार्वजनिक कार्यक्रममा बोलेको आधारमा मुद्दा खेपिरहेको पनि कार्यक्रममा उनले जानकारी गराए। उनले तेस्रो पटक आफूलाई राज्यले कस्तो व्यवहार गर्ला भन्नेमा पनि त्रास रहेको बताए। 

सिंहदरबारस्थित कार्यक्रममा पुगेर सम्बोधन गर्ने क्रममा उनले भने, ‘मलाई अलिकति त्रास पनि छ। के भने यो धमला बैनीले बनाएको (कल्पना धमला) पहिलो कार्यक्रममा संसद विघटन हुँदाखेरी बाबुरामजी पनि बोल्नुभएको थियो। मैले केही भनेँ ममाथि अदालतको अपहेलनाको मुद्दा लाग्यो। अहिलेसम्म नि म तारिखमै छु। त्यो बेला त तारिखमै बसियो। यसपालि त संसदमाअघि नै उता माथि पुगेछु। त्यहाँ यता दुई नम्बर गेटमा जा भन्छ। तीन नम्बर गेटमा जा भन्छ। प्रहरीले घेरेको घेरेकै छन्। त्यहाँबाट निस्किन पाउँछु कि पाउँदिन यसपाली त पक्राउ नै परेँ कि जस्तो पनि भयो मलाई। किनकी म भुलेछु उता भन्ठानेछु नानीले पनि भनिनन्। कतिबेरसम्म यताबाट गेटमा जान्छु आर्मिले यता पनि होइन भन्छ, उता पनि होइन भन्छ। प्रवेश नै पाइनँ मैले। पहिले त म मुद्दामा मात्रै परेँ। यसपालि त पक्राउ नै परेँ जस्तो लाग्यो मलाई। अब तेस्रोचोटी के हुन्छ? थाहा छैन।’

प्रकाशित: १५ फाल्गुन २०८० १७:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App