राजनीति

संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्छः सभामुख घिमिरे

फाइल तस्बिर

सभामुख देवराज घिमिरेले संघीय संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका छन्। 

सोमवार संघीय संसद सचिवालयले आयोजना गरेको संसद सेवाको प्रभावकारिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदलाई सर्वोच्च विधायकी संस्थाको रुपमा प्रभावकारी बनाउनुपर्ने बताएका हुन्।

उनले संसद सर्वोच्च विधायकी संस्था भएको उल्लेख गर्दै विधायकी संस्थालाई सर्वोच्च बनाउनुपर्नेमा जोड दिए। संसदलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। उनले संसदलाई प्रभावकारी बनाउनका लागि सबैको भुमिका हुने भन्दै आ–आफ्नो ठाउँबाट भुमिका खेल्न आग्रह पनि गरे। सभामुख घिमिरेले संसद सेवालाई प्रभावकारी बनाउन अध्ययन, अवलोकन भ्रमण, अनुभव आदानप्रदान लगायतका सेवा, सुविधा दिनुपर्ने उल्लेख गर्दै यसको निम्ति आफुले भुमिका खेल्ने पनि बताए।

उनले भने, ‘एउटा कुरा निश्चयपनि सर्वोच्च विधायकी संस्था हो संसद। मेरो चासो के हो भने यो सर्वोच्च विधायकी संस्था सर्वोच्च रुपमा छ कि छैन अहिले? यसलाई सर्वोच्च रुपमा छ, अझ सर्वोच्च बनाउने, प्रभावकारी बनाउने के हो त्यो गर्नुपर्छ। छैन, त्यो बनाउनको लागि के गर्नुपर्छ? यो बहस अन्तरक्रियाको शुरुवात हो। यसको निष्कर्षमा पु¥याउन सबैको जिम्मेवारी आ–आफ्नो ठाउँमा छ। म सभामुखको हैसियतले यसलाई कसरी पार्न सकिन्छ, त्यो दिशामा जानुपर्छ र जाउँ भन्नका लागि अपील गर्दछु। यसलाई प्रभावकारी पार्ने के हो भन्ने कुरा। संसद सेवा छुट्टै भइसकेपछि प्रभावकारी भएन। कमजोर हुँदै गयो भन्ने कुरा तपाई, हामीले अनुभुत गरेका छौँ। यसको विशेषज्ञता छुट्टै हुनुपर्छ। बाहिरबाट यहाँ आउनु हुँदैन र यहाँबाट पनि बाहिर त्यसरी जाँदाखेरी यसको गुण कमजोर हुन्छ। विज्ञता, अनुभव कमजोर हुन्छ र यसलाई बलियो बनाउनुपर्छ भन्ने मान्यतामा आधारित भएर यो गरियो तर तदनुकुल व्यवहार हुन सकिरहेको छैन। विज्ञता हासिल गर्नका लागि दिनुपर्ने सुविधा, सेवाको अभावलाई परिपूर्ति कसरी गर्ने? र यहाँ रहेकाहरुले सेवाको लागि मात्रै आउने हो कि मैले विज्ञता देशको लागि दिन्छु। गरिमामय संसद बनाउनका लागि मैले आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्छु भनेर मेहनत गर्ने हो? यो पनि प्रश्न छ। संसदीय सेवालाई प्रभावकारी बनाउन अध्ययनको सुविधा, अवलोकन भ्रमण, अनुभव आदानप्रदानको कुरा। अझ बढी सुविधा दिने, सक्षम, योग्य र इमान्दार बनाउने कुरामा मैले आफ्नो ठाउँबाट खेल्ने भुमिका म जहिल्यै खेल्न तयार छु।’

प्रकाशित: २५ मंसिर २०८० ११:२६ सोमबार

सभामुख देवराज घिमिरे