राजनीति

सामान्य कार्यक्रममा प्रधानमन्त्रीसहित २५ विशिष्टको हुल

फाइल तस्बीर

नेपालका मन्त्रीहरू कति फुर्सदिला छन् भन्ने कुरा आइतबारको एक कार्यक्रमले देखाएको छ। ललितपुरको भैंसेपाटीमा आइतबार गरिएको भवन हस्तान्तरण कार्यक्रममा संघीय सरकारका प्रधानमन्त्री र १० मन्त्री तथा सातै प्रदेशका प्रमुख र मुख्यमन्त्री गरी २५ जना विशिष्ट व्यक्ति उपस्थित थिए। यसले विशिष्ट व्यक्तिहरूको समय केका लागि खर्च भएको छ भन्ने प्रस्ट भएको छ।  

प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूका सम्पर्क कार्यालय बनाउन भैंसेपाटीमा निर्माण गरिएका भवन हस्तान्तरण कार्यक्रममा यति धेरै विशिष्ट व्यक्ति उपस्थित भएका हुन्। सहरी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा ती सबै विशिष्ट व्यक्तिलाई मन्त्रालयले नै डाकेको थियो।  

कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल थिए। मञ्चमा संघीय सरकारका १० जना मन्त्री थिए। मुख्यसचिव बैकुण्ठ अर्याल पनि कार्यक्रममा पुगेका थिए। सहरी विकासमन्त्री सीता गुरुङले अध्यक्षता गरेको उक्त कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, शिक्षामन्त्री अशोक राई, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साह, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो, सूचना तथा सञ्चारमन्त्री रेखा शर्मा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत पनि उपस्थित थिए।

त्यस्तै कार्यक्रममा कोसी प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री उद्धव थापा, मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र र मुख्यमन्त्री सरोज यादव, वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्मा उपस्थित थिए।  

त्यस्तै मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री डिल्ली चौधरी, कर्णाली प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री कमल शाह, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी र मुख्यमन्त्री राजकुमार शर्मा उपस्थित थिए। कार्यक्रममा संघीय भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ पनि उपस्थित थिए। कार्यक्रममा सहरी विकास मन्त्रालयका सबै सहसचिव र अधिकांश उपसचिव उपस्थित थिए।

सहरी विकास मन्त्रालयका अनुसार प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरूलाई काठमाडौं आएका बेला बस्न र सम्पर्क गर्न भवन बनाइएको हो। कार्यक्रममा प्रधानमन्त्री दाहालले प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई सम्पर्क कार्यालय भवनको साँचो छुट्टाछुट्टै हस्तान्तरण गरे।

संघीय सरकारले चार वर्ष लगाएर भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि सम्पर्क कार्यालय बनाएको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १३ गते मुख्यमन्त्री तथा सम्पर्क कार्यालय भवनको शिलान्यास गरेका थिए। प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय निर्माण गर्न ८५ करोड रूपैयाँ खर्च भएको छ।

 प्रशासनविद् शारदाप्रसाद त्रितालले एउटै कार्यक्रममा यति धेरै मन्त्री उपस्थित हुनुको अर्थ नभएको प्रतिक्रिया दिए। ‘यो भनेको बेकारको काम हो, अनावश्यक खर्च हो। एउटै कार्यक्रममा यति धेरै मन्त्री गएर उपलब्धि केही हुँदैन। एकजना मन्त्री गएको भए हुन्थ्योे,’ उनले भने। सार्वजनिक कार्यक्रमलाई मितव्ययी बनाउनुपर्ने उनको सुझाव छ।

भवनमा रङरोगन तथा आन्तरिक सजावट गर्न २० करोड रूपैयाँ खर्च भएको छ। केसी समानान्तर कम्पनीसँग सम्झौता हुँदा २ वर्षभित्र निर्माणको सबै काम सक्ने भनिए पनि कोभिडका कारण दुई वर्ष समय थप गर्नुपरेको विशेष भवन आयोजना प्रमुख मच्चाकाजी महर्जनले बताए। २७ रोपनी १२ आनामा मुख्यमन्त्री तथा सम्पर्क कार्यालयका सातवटा भवन र १४ वटा ब्लक (युनिट) छन्।  

अब मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौं आउँदा बस्न अपार्मेन्ट भाडामा लिनुपर्ने छैन। अहिलेसम्म मुख्यमन्त्री र प्रदेश प्रमुख काठमाडौं आउँदा ललितपुरको डाउनटाउन अपार्मेन्टका भाडाका भवनमा बस्दै आएका थिए। यसका लागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अपार्मेन्टका १४ वटा भवन भाडामा लिएको थियो। प्रत्येक भवनका लागि सरकारले मासिक मासिक ५१ हजार रूपैयाँ भाडा तिथ्र्यो।

प्रकाशित: ११ भाद्र २०८० ०१:२४ सोमबार

सामान्य कार्यक्रममा प्रधानमन्त्रीसहित २५ विशिष्टको हुल