राजनीति

तालमेल गरेर सुरक्षित हुने माओवादी रणनीति

बुटवल- दुई मुख्य दल कांग्रेस र एमालेले चुनाव प्रचार अभियान तीव्र बनाइरहेका बेला तेस्रो दल माओवादी केन्द्र तालमेलमा अल्मलिएको छ।

एमाले र कांग्रेसमध्ये कुनै एक दलसँग मिलेर चुनावमा जाने र आफ्नो स्थान सुरक्षित गर्ने रणनीति माओवादीको छ।  माओवादी तालमेलको गृहकार्यमा अल्मलिइरहेको र कांगेस तथा एमाले आन्तरिक व्यवस्थापनमा लागेकाले चुनावी रौनक अझै बढ्न सकेको छैन। दुई दलको चुनावी गति बढिरहेका बेला माओवादी केन्द्रले एमाले र कांग्रेसका नेतासँग तालमेलका लागि पालैपालो कुरा गरिरहेको छ। माओवादी केन्द्रले रुपन्देहीका उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा एक्लै चुनाव जित्ने वा मुख्य प्रतिस्पर्धी हुने सम्भावना नदेखेपछि मुख्य दुई दलमध्ये कुनै एकसँग मिलेर चुनावमा जाने तयारी गरेको स्रोत बताउँछ।

माओवादी केन्द्रले एमाले र कांग्रेसका नेतासँग तालमेलका लागि पालैपालो कुरा गरिरहेको छ।

‘हामी तेस्रो दल त हौं तर हामी कसैसँग मिलेर जाँदा मिल्नेलाई फाइदा हुन्छ, अर्को प्रतिस्पर्धीलाई हराउन सक्छौं,' माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दधीराम न्यौपानेले भने।

माओवादी केन्द्रका  नेताका अनुसार, उसले तालमेलका लागि दुइटा रणनीति अघि बढाएको छ। पहिलो जिल्ला तहबाटै जिल्लाका १६ वटा स्थानीय तहमा प्याकेजमा तालमेल गर्ने, दोस्रो स्थानीय तहमा मिल्न खोज्ने र मिल्न सक्नेसँग तालमेल गर्ने । दुईमध्ये पहिलो विकल्प कमजोर बन्दै गएपछि माओवादी केन्द्रले दोस्रो विकल्प अघि सारेको छ।

सुरुमा एमालेसँग जिल्लाका सबै स्थानीय तहमा तालमेलको प्रस्ताव लगेको माओवादी केेन्द्रले पछिल्ला दिनमा कांग्रेससँग तालमेलका लागि वार्ता अघि बढाएको छ। माओवादी केन्द्रले एमाले र कांग्रेस दुवैसँग एकैपल्ट समानान्तर वार्ता अघि बढाएपछि कांग्रेस पनि जिल्ला तहमा तालमेल गर्न अनिच्छुक देखिएको छ। तर उसले तालमेलको ढोका बन्द नभइसकेको बताएको छ। कांग्रेस रुपन्देही–४ का क्षेत्रीय सभापति हरि लम्सालले मिल्न सक्ने ठाउँमा मिलेर जाने रणनीति लिएको बताए। कांग्रेसले तिलोत्तमा नगरपालिकामा उपमेयर र केही वडाध्यक्षमा जनमुक्ति पार्टीसँग तालमेल गरी संयुक्त चुनाव प्रचार कार्यालय स्थापना र घरदैलो अघि बढाइसकेको छ। तिलोत्तमा नगरपालिकामा माओवादी—कांग्रेस गठबन्धनको सम्भावना टुटेपछि माओवादी अरु नगरपालिका र गाउँपालिकामा कांग्रेसको साथ खोज्न लागेको हो। कांग्रेसले जिल्ला तहमा तालमेलको सम्भावना नभए पनि स्थानीयस्तरमा जोसँग मिल्न सकिन्छ मिलेर जाने रणनीति लिएको छ। बुटवल उपमहानगरसहित देवदह, सैनामैना नगरपालिकामा माओवादीले कांग्रेससँग तालमेलको वार्ता अघि बढाइरहेको  छ। सिद्धार्थनगर नगरपालिकामा भने कांग्रेसले उपमेयरका उम्मेदवार घोषणा गरिसकेको छ।

एमाले जिल्ला नेतृत्वले पनि जिल्लाका सबै स्थानीय तहमा सम्भव नभए पनि मिल्न सकिने ठाउँमा तालमेल गर्ने र तालमेलका लागि माओवादी केन्द्रलाई प्राथमिकता दिने योजना अघि बढाएको थियो। तर तल्ला कमिटीमा यसबारे छलफल गर्दा बरु हार्ने तर तालमेल नगर्ने सुझाव आयो। जसले गर्दा ऊ माओवादीसँग तालमेलका लागि धेरै अघि बढ्न सकेन्। ‘हामी तालमेल सम्भव भएसम्म गर्ने तयारीमा छांै, तल्लो कमिटीका साथीहरूलाई तालमेलप्रति रुचि छैन्,' एमाले रुपन्देही इञ्चार्ज लिला गिरीले भने।

  माओवादी केन्द्र रुपन्देहीले जिल्लाका १६ स्थानीय तहमध्ये १३ वटामा उम्मेदवार तय गरिसकेको छ । तय गरिएका उम्मेदवार अरु दलसँग तालमेल गरेको अवस्थामा हेरफेर हुने नेतृत्वले बताएकाले पनि उम्मेदवार घरदैलोलगायत प्रचारात्मक काममा खट्न सकेको छैनन्। तालमेल भए घोषणा भएका उम्मेदवार हेरफेर हुन सक्ने माओवादी केन्द्रका पोलिटब्युरो सदस्य न्यौपानेले बताए। तालमेलकै टुंगो नलागेकाले माओवादी केन्द्रले बुटवल उपमहानगरपालिकामा उम्मेदवार घोषणा गर्न सकेको छैन। कांग्रेस र एमाले जोसँग तालमेल भए पनि उपमेयर पाउने माओवादी केन्द्रको आशा छ। त्यसका लागि धेरै आकांक्षी देखिएपछि  आन्तरिक ढंगले व्यवस्थापन गर्न लागेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए।

 बुटवल उपमहानगरपालिकाको मेयरमा सिफारिस पार्टीका पोलिटब्युरो सदस्य दयाराम न्यौपाने (माधव शर्मा), अर्का पोलिटब्युरो सदस्य रामप्रसाद बन्जाडे 'टंकमणि' र जगत पोख्रेल छन्। त्यसैगरी उपमेयरमा कृष्ण पोख्रेल, टीका ओली र मञ्जु भुसालको नाम सिफारिस गरिएको छ।  तालमेलका क्रममा तीभन्दा बाहिरबाट पनि उम्मेदवार तय हुन सक्ने माओवादी केन्द्रका नेता बताउँछन्।

कांग्रेस रुपन्देही क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति  लम्सालले माओवादीलगायत मिल्न सक्ने सबैसँग तालमेल  गरेर जाने नीति पार्टीको रहेको र सोही अनुसार छलफल अघि बढाएको बताए।

प्रकाशित: २८ जेष्ठ २०७४ ०२:३१ आइतबार

तालमेल गरेर सुरक्षित हुने माओवादी रणनीति