राजनीति

एमाले सांसदले पार्टी केन्द्रीय कार्यालयमै कुटाइ खाए

काठमाडौं—स्थानीय तह पुनर्संरचना विषयको विवादमा एमाले सांसद लालबहादुर रावल आफ्नै कार्यकर्ताबाट कुटिएका छन्। बिहीबार दिउँसो धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय परिसरभित्रै उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन्।

'माननीयज्यूमाथि एक्कासि आक्रमण भयो। छुट्याउन जाँदा एक जनालाई हातमा चोट लागेको छ', एमालेका एक जना केन्द्रीय सदस्यले नागरिकन्युजसँग भने, 'सामान्य ठेलाठेल भएको हो। ठूलो कुरा केही होइन।'

स्थानीय तह पुनर्संरचनामा बझाङको सबैभन्दा ठूलो काडा गाउँ विकास समितिलाई छुट्टै गाउँपालिका बनाउनुपर्ने माग गर्दै सर्वदलीय प्रतिनिधिमण्डल एमाले केन्द्रीय कार्यालय धुम्बाराही पुगेको थियो। प्रतिनिधिमण्डलमा बझाङका स्थानीय नेता कार्यकर्ता पनि सहभागी थिए।

प्रतिनिधिमण्डल सदस्यहरुले सांसद रावललाई काडा गाबिस मात्रैलाई छुट्टै स्थानीय गाउँपालिका बनाउने मागमा हस्ताक्षर गर्न दबाब दिएका थिए। तर रावलले हस्ताक्षर गर्न अस्वीकार गरेपछि प्रतिनिधिमण्डलका सदस्य रहेका एमालेका स्थानीय नेता मानवीर बोहोराले रावलको छातीमा मुक्का प्रहार गरेका थिए।

सांसद रावलले केन्द्रीय कार्यालयमा छलफल गरौंला भनेर प्रतिनिधिमण्डललाई धुम्बाराही पुर्‍याएको बताइएको र त्यहाँ पुगेपछि अस्वीकार गरेको बताइएको छ।

उनी बझाङबाटै प्रतिनिधित्व गर्ने सांसद हुन्।

मुक्का प्रहारपछि एमाले केन्द्रीय कार्यालय परिसर क्षेत्र केहीबेर तनाब भएको थियो। 'माननीयज्यूमाथि एक्कासि आक्रमण भयो। छुट्याउन जाँदा एक जनालाई हातमा चोट लागेको छ', एमालेका एक जना केन्द्रीय सदस्यले नागरिकन्युजसँग भने, 'सामान्य ठेलाठेल भएको हो। ठूलो कुरा केही होइन।'

कांग्रेस सहितका स्थानीय नेता काडा गाउँ विकास समितिमा छुट्टै गाउँपालिका बनाउन सहमत भएपछि एमालेको समर्थन खोज्न प्रतिनिधिमण्डल बिहीबार धुम्बाराही पुगेको थियो।

प्रकाशित: ३० मंसिर २०७३ १०:४६ बिहीबार

एमाले सांसदले पार्टी केन्द्रीय कार्यालयमै कुटाइ खाए