राजनीति

कांग्रेसमा संरचनामै अन्योल

काठमाडौं- सत्तारूढ नेपाली कांग्रेसले स्थानीय निकायको पुरानै संरचनाअनुसार निर्वाचनमा जाने वा पहिले पुनःसंरचना टुंग्याउने विषयमा छलफल थालेको छ। स्थानीय निकाय पुनःसंरचनालाई लिएर प्रमुख राजनीतिक दल विभाजित बनिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्र छलफल चलाएका हुन्।

सभापति देउवाकै निवास बूढानीलकण्ठमा मंगलबार भएको छलफलमा कतिपय नेताले संविधानको व्यवस्थाअनुसार पुनःसंरचना गरेर चैतभित्र निर्वाचन सम्भव नरहेको जनाउँदै पुरानै संरचनामा जोड दिए। पुनःसंरचना आयोगको म्याद थप गरी पुनःसंरचनाको काम अघि बढाउन बाटो सहज पार्ने र तत्कालाई अहिले कायम गाविस र नगरपालिकाकै निर्वाचन गराउनुपर्ने उनीहरूको धारणा छ।

केही नेताले भने दलीय सहमतिका आधारमा स्थानीय निकाय पुनःसंरचना टुंगो लगाएर निर्वाचनमा जानुपर्ने तर्क गरे। संविधान कार्यान्वयनको नेतृत्व लिनुपर्ने पार्टीले पुरानै संरचनाअनुसार निर्वाचनमा जाने कुरा संविधानसम्मत नहुने उनीहरूको धारणा छ। आयोगले प्रस्ताव गरेको संख्या तलमाथि गरेर वा जिल्ला विकास समितिका इलाकालाई गाउँपालिकामा रूपान्तरण गरेर अघि बढ्न सकिने नेताहरूको सुझाव छ। समय बाँकी नरहेको भन्दै उनीहरूले सभापति देउवालाई दुईमध्ये जुन बाटो लिए पनि छिटोभन्दा छिटो स्पष्ट धारणा तय गर्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेस पुनःसंरचनाका विषयमा पटकपटक छलफलमा जुटे पनि टुंगोमा पुग्न सकेको छैन।

सभापति देउवाले पार्टीभित्र र अन्य दलसँगसमेत छलफल गरेर अघि बढ्ने धारणा राखेको छलफलमा सहभागी एक नेताले जानकारी दिए।

नेता रामचन्द्र पौडेलसहितको बैठकमा पार्टी पदाधिकारीसाथै विभाग गठनका विषयमा पनि छलफल भएको थियो। सभापति देउवाले राज्यमन्त्रीसहित पार्टी पदाधिकारी र अन्य निकायको नियुक्ति केही समयपछि मात्र गर्ने जानकारी दिए। महिला संघ र तरुण दलको महाधिवेशनपछि मात्र देउवा पार्टी पदाधिकारी, विभागसहितका निकाय गठनतर्फ लाग्ने योजनामा छन्।

पौडेलसहितका नेतासँग छलफलपछि देउवाले आफूनिकट नेताहरूसँग छुट्टै छलफल गरेका छन्।   

प्रकाशित: २२ भाद्र २०७३ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App